Sat2024 July 27
२०८१ साउन १२, शनिबार

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस नेपाल भ्रमणमा आउँदै

16

RSS- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस अक्टोबर २९ देखि नोभेम्बर १ सम्म नेपाल भ्रमणमा आउँदैछन् ।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसको औपचारिक भ्रमणलाई स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

त्यसैगरी, मन्त्रिपरिषद्को बैठकले परराष्ट्रमन्त्री एनपी साउदको असोज २५ देखि नोभेम्बर २ सम्मको अमेरिका भ्रमणलाई पनि स्वीकृत गरेको छ ।

मन्त्री शर्माका अनुसार मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय मानवअधिकार आयोगसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ ।

यसैगरी, मन्त्रिपरिषद् बैठकले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजनाको विकासका लागि आवश्यक १०७.९७ हेक्टर जग्गा अधिग्रहण गर्न स्वीकृत गरेको छ । भारतीय कम्पनी सतलज विद्युत निगमले आयोजना निर्माण गर्ने भएको छ ।

मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश सरकारलाई बालबालिका, विकास र शान्ति निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न सैद्धान्तिक स्वीकृति समेत दिएको छ ।

मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयुक्त सगुन शमशेर जबराको बंगलादेश भ्रमण अक्टोबर २८ देखि ३० सम्म हुने निर्वाचन सम्बन्धी गोष्ठीमा स्वीकृत गरेको मन्त्री शर्माले जानकारी दिए ।

यसैगरी मन्त्रिपरिषद्ले आगामी नोभेम्बर ७ देखि फ्रान्सको पेरिसमा हुने युनेस्कोको ४२औँ महासभामा सहभागी हुन शिक्षा तथा विज्ञान प्रविधिमन्त्री अशोककुमार राई र सचिव सुरेश अधिकारीको भ्रमणलाई पनि स्वीकृत गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र सचिव देवकुमारी गुरागाईंलाई यही नोभेम्बर १५-१७ मा थाइल्याण्डको बैंककमा हुन लागेको सम्मेलनमा सहभागी हुन अनुमति दिइएको छ । त्यस्तै चिकित्सा विज्ञान राष्ट्रिय प्रज्ञा प्रतिष्ठान २०६३ अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको परिषद्मा अमुदा श्रेष्ठ र पद्मबहादुर गिरीलाई मनोनयन गरिएको छ ।

सरकारले दशैं, तिहार, नेपाल संवत्, छठलगायत सांस्कृतिक पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले चालू आर्थिक वर्षका लागि महान्यायाधिवक्ताको कार्यालयमा सूचना प्रविधि अधिकृतको अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय गरेको हो ।

बैठकले औद्योगिक प्रयोजनका लागि बदाम, मटर र कालो मरिच आयात गर्न अनुमति दिएको छ । त्यसैगरी, थाइल्यान्डमा हुन लागेको एसिया प्यासिफिक इनर्जी फोरममा सहभागी हुन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको नेतृत्वमा रहेको प्रतिनिधिमण्डललाई मन्त्रिपरिषद्ले अनुमोदन गरेको छ ।

मन्त्रिपरिषद्ले रेल सेवा सञ्चालन र मर्मतसम्भारका लागि तालिमप्राप्त जनशक्ति, आवश्यक उपकरण र सामान खरिद गर्न सरकार–सरकार सम्झौतामार्फत सैद्धान्तिक स्वीकृति दिएको छ ।

मन्त्रिपरिषद्ले रेल, मेट्रो रेल, मोनोरेल विकास आयोजनाका लागि विभिन्न सेवा, समूह र उपसमूहका लागि १४ अस्थायी अधिकृत तहको दरबन्दी सिर्जना गर्न स्वीकृति दिएको छ ।

मन्त्रिपरिषद्ले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट तथा बक्सिङ च्याम्पियनसिपका विजेता र पदक विजेता खेलाडी, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई पुरस्कार दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको प्रतिनिधिमण्डललाई घानामा मङ्सिर ५ र ६ गते आयोजना गर्न लागेको राष्ट्रसंघीय शान्ति सैनिक मन्त्रिस्तरीय बैठकमा सहभागी हुन स्वीकृति दिएको छ ।

त्यसैगरी नेशनल रेसिडेन्स कम्पनी लिमिटेडको रिक्त महाप्रबन्धकमा रामकृष्ण निरालालाई नियुक्त गरिएको छ ।

अर्जुनजंग थापालाई नेपाल इन्जिनियरिङ सेवा समूहतर्फ राजपत्र विशेष कक्षामा बढुवा गरिएको मन्त्री शर्माले जानकारी दिए ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर