Sat2024 July 27
२०८१ साउन १२, शनिबार

सनाखत हुन नसकेको बेवारिसे शवको प्रहरीले सार्वजनिक गर्याे स्केच फोटो

15

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका– १२ मिलनचोक स्थित पूर्वपश्चिम राजमार्गको कल्भर्टमा भेटिएको दुई वटा शवको पहिचान गर्न कठिन भएको छ । ६ मंसिरमा छुट्टाछुट्टै जुटको बोरामा हातखुट्टा बाँधेर पोको पारी फालिएको अवस्थामा दुईवटा शव फेला परेको थियो ।

कल्भर्टमुनि शङ्कास्पद अवस्थामा एक महिला र एक पुरुषको शव भेटिएपछि चितवन प्रहरीले ७७ वटै जिल्लामा हुलिया परिपत्र गर्दासमेत हाल सम्म सनाखत हुन नसकेको जनाएको छ ।

शव फेला परेको ११ दिनसम्म पनि पहिचान हुन नसकेपछि जिल्ला प्रहरी कार्यालयले मृतकहरुको शवको स्केच बनाएर पहिचान गर्न अनुरोध गर्दै फोटो सार्वजनिक गरेको छ । प्रहरीले पुरुषको उमेर अन्दाजी २५ र महिलाको ३० रहेको जानकारी गराएको छ ।

मृतकहरुको हुलिया, शरीरमा भेटिएका चिजबस्तु, चिन्ह तथा कपडाहरुको विवरणसहितको फोटोबाट सनाखत हुन सक्ने भएकाले मृतकहरुको अनुहार प्रष्ट्याउने किसिमको बिशेषज्ञद्वारा तयार पारिएको Digitally Manipulated Images (स्केच) प्रहरीले सार्वजनिक गरेको हो ।

प्रहरीले यसअघि मृतकका कपडाहरू सार्वजनिक गरेको थियो । तर शवको सनाखत हुन नसकेपछि स्केच सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले जानकारी दिए ।

प्रहरीका अनुसार पुरुषको उचाइ ५ फिट ७ इन्च रहेको छ । सेतो रंगको सेण्डो, सुपरड्राइ लेखिएको निलो रंगको हाफ कट्टु, डबल लेखिएको खैरो रंगको भित्री कपडा लगाएको अवस्थामा पुरुषको शव छ । उसको वर्ण स्याम्लो, मझौला शरीर, झट्ट हेर्दा तराई मुलको जस्तो देखिने, दाहिने हातमा रक्षा बन्धन बाँधेको र हल्का दारी पालेको प्रहरीले जनाएको छ ।

त्यस्तै मृत भेटिएकी महिलाको उचाइ ५ फिट ३ इन्च रहेको प्रहरीले जानकारी दिएको छ । उनले कलेजी रंगको ट्राउजर, गुलाबीमा कालो रंगको बुट्टा भएको कुर्ता र खैरो रंगको पेन्टी लगाएकी छिन् ।

उनको वर्ण स्याम्लो, मझौला शरीर, हात खुट्टामा पिंक रंगको नेल पोलिस लगाएको, झट्ट हेर्दा तराई मुलको जस्तो देखिने रहेको प्रहरीले बताएको छ । उनको बायाँ हातको नाडीको भित्री भागमा ‘एस’ स्पष्ट देखिने, ‘एम’ वा ‘ए’ स्पष्ट नभएको र धार्मिक चिन्ह जस्तो देखिने वस्तुको ट्याटु छ ।

त्यस्तै बायाँ खुट्टामा कालो डोरा र दाहिने हातमा रक्षा बन्धन बाँधेको, कानमा पहेँलो धातुको झुम्को रहेको प्रहरीले जानकारी दिएको छ । दुवै शव भरतपुर अस्पतालमा रहेको छ ।

छिमेकी राष्ट्रमा समेत शवको पहिचानका लागि पत्राचार गरिएको चितवन प्रहरीले जनाएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर