Sat2024 July 27
२०८१ साउन १२, शनिबार

सन्दर्भ–नेम्वाङको निधन : राष्ट्रघात र हृदयघात दुवैले अस्तित्व मेटाइदिन्छ

22

२६ भदौ, रुपन्देही ।

राजनीतिको परिभाषा

जसले देश र जनताका लागि काम गर्छ, आफ्नो स्वार्थलाई भुलेर जनताकै समृद्धि र सुख–खुशीको अगुवाका रुपमा सबैभन्दा अघि रहेर उल्लेख्य भूमिका निर्वाह गर्छ, जसले के गर्दा कसरी गर्दा जनताको उन्नतिको प्रत्याभूति हुन्छ भनेर जनता र जनतामा रहेको सिप, ज्ञानलाई परमोचित ढंगबाट मार्गदर्शन गर्छ वास्तवमा उही असल नेता हुन्छ । आफ्नो पार्टीको नीति र निर्णय गलत छ भन्ने थाहा हुँदाहुँदै पनि जो मौनता साधेर बस्छ र पार्टीको हित र विस्तारका लागि मात्रै जीवन खर्चिन्छ त्यो वास्तवमा नेता हुन सक्दैन । कुनै देशमा नेता हुनका लागि देश र जनताको प्रगतिमा मापनयोग्य योगदान दिएकै हुनपर्दछ भने कुनै देशमा पार्टीको विकासमा मात्रै योगदान दिदै जीवनका केही दशक बिताए पुग्छ ।

पत्रकारको धर्म

नेपालको हकमा कुन परिपाटीले राजनीतिक दलहरु चलेका छन् त्यसको समाचार बनाइरहनु पर्दैन किनकि जनता आफै भुक्तभोगी छन् । जुन घटनाले जसरी अन्जाम लियो त्यसलाई त्यसरी नै जनसमुदायसम्म लैजान कलम चलाइदिए मात्र पनि समाचार बन्छ । तर घटनाको विश्लेषणात्मक ढंगले चिरफार र वृहत् मूल्याङ्कन गरेर त्यसको सत्यतथ्यलाई छर्लङ्ग पार्नेगरि कलम चलाउनु पनि पत्रकारकै धर्म हो । चाटुकार र पत्रकारमा अन्तर हुन्छ । समाजमा पत्रकारिताको माध्यमबाट सकारात्मक परिवर्तन ल्याउन सघाउनु पत्रकारको पनि दायित्व हो । जहिले नि मित्रको प्रशंसा गरिरहने असल मित्र होइन, मित्रमा रहेका अवगुणलाई बेलैमा चिनाएर त्यसको रोकथाम र उपचार गर्ने आँट भएकालाई असल मित्र भनिन्छ । पत्रकारले चाटुकारको भूमिका निर्वाह गर्दै नेताहरुको गल्तीमाथि सकारात्मक समाचारको पर्दा हालिरह्यो भने त्यो नेताले सुध्रिने मौका पाउँदैन । कसैले औलो उठाउन नपाओस् नेपालको पत्रकारितामाथि, पत्रकारको भूमिका त्यस्तो हुनुपर्दछ ।

युग परिवर्तनको प्रभावले होला सत्यको निकट होइन मानिसले असत्यको पक्षमा बोल्दा, लेख्दा, सहकार्य गर्दा आफूलाई सुरक्षित ठान्दछ किन कि बहुमतको जमातमा बाहुल्यता असत्यलाई मन पराउने र भ्रमलाई जमाउनेहरुको नै छ ।
यो मर्त्यलोकमा कतिपय समुदाय यस्ता पनि छन् जहाँ परिवारमा कोही जन्मिदा परिवारका सदस्यहरु रुन्छन् भने जीवन भोग पछि निधन हुँदा खुशियाली मनाउँछन् । फरक दर्शनले फरक व्यवहार गर्न मानिसलाई उत्प्रेरित गर्छ तर दर्शनको सम्बन्ध वास्तविक ज्ञानसँग नै हुनुपर्दछ र हुन्छ पनि । ज्ञानरुपी प्रकाशमा मात्रै मानिसले राम्रो नराम्रो, उचित अनुचित, धर्म अधर्म, पाप पूण्य, हित–अहितबीचको भिन्नतालाई देख्दछ न कि अज्ञानरुपी अन्धकारमा ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरु नेम्वाङको निधनमा खुशी

आज सुवास नेम्वाङको हृदयघातका कारण निधन भएछ । यो आफैमा शोकयोग्य विषय हुनसक्छ । उनले आफ्नो जीवनलाई राजनीतिका लागि भनेरै सुम्पिए । नेम्वाङलाई थाहा थियो राजनीतिले नै देशको स्वरुप बदल्न सक्छ । यद्यपि कतिपय अनुचित निर्णयहरु पार्टीले गर्दा पनि उनले त्यसको खुलेर विरोध भने गर्न सकेनन् । यसै कारणले होला उनको निधनमा जनताले सामाजिक सञ्जाल मार्फत खुशी भएको अभिव्यक्ति दिएका ।

‘‘सत्य नै बोल्नु पर्छ, नेपालको यो हालत बनाउने प्रमुख एक व्यक्ती यही गद्दार तत्कालीन सभामुख सुवासचन्द्र नेम्वाङ नै हो । कमसेकम एक धर्मद्रोही आज हृदयघाटको कारणले ज्यान गएछ, जसको कारण नेपालीलाई खुशीको कुरा हो । यसरी नै १ दर्जन नेता मरे देखि नेपालको उन्नतिको बाटो खुल्ने थियो । जिउँदै छँदा गद्दार नेताहरुलाई फलानो फलानो भने झैं मरे पछि पनि गद्दार नै भन्नु पर्छ, त्यसैले नेपालको एक मिसिनरी र राष्ट्रघाती कम भयो । मृत्यु प्रति हार्दिक श्रद्धाञ्जली ।’’ लेखेर कुनै सामाजिक सञ्जालका प्रयोगकर्ताले स्टाटस राखेछन् ।

त्यसरी नै ‘‘हिन्दुराष्ट्रका श्रापले एउटा मतियारको त मुटु पड्किएछ, अरु साँचिएका १ दर्जनको अन्त्य चाहिँ हाम्रै हातबाट हुनुपर्छ भगमान ।’’ अर्का सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेर स्टाटस राखेका छन् ।
यो स्टासलाई कसैले सही हो भनेका छन्, भने कसैले कठै बरीलै मरेर पनि श्राप खाई रहन पाउनु, धिक्कार छ। रीप । भनेका छन् भने कसैले ‘‘अब नेताको घैंटोमा घाम उदाउने हो कि जस्तो लाग्छ यो पोस्ट बाट’’ लेखेका छन् । कसैकसैले यो खालको स्टाटस राख्न नहुने हो । असल मान्छे थिए नेम्वाङ । यस्तो स्टाटस राख्ने पागल हो भनेका छन् ।

धर्मप्रतिको गलत बुझाइ र राजनीतिको दुरुपयोग

हुन त आफ्नो धारणा राख्ने अधिकार सबैलाई छ । तर गतल ठाउँमा सही धारणा राख्दा त्यसको प्रभाव पनि गतल नै हुन्छ भन्ने कुराको हेक्का सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले बुझ्न जरुरी छ । धर्मको परिभाषा जुन ढंगले गरिएको छ त्यो नै हो देश भित्रको अशान्ति र आपसी द्वन्द्व अनि मतभेदको मूल कारण । जसरी एक झुटले सय झुट, एक गलत निर्णयले हजार गलत निर्णय र एक भ्रमपूर्ण विचारधाराले लाखौं भ्रम सृजना गर्छ त्यसरी नै धर्मको एक गलत बुझाइले करोडौं गलत बुझाइलाई नै जन्माउँछ । आज सम्प्रदाय र पन्थलाई धर्म मानेर चल्दा यहाँ सिंगो समाज, सिंगो देश असन्तुलित बन्न बाध्य छ । आज अराजक र अदूरदर्शी राजनीतिका कारण देशको दुर्दशा झन् बिग्रदो अवस्थामा पुगेको छ । गरिबी झन् चुलिदै छ । बेरोजगारीले देशलाई युवाविहीन हुने अवस्थामा लैजाँदै छ । परनिर्भरताले सीमा नाघेको छ । तर देशको राजनीतिक पदमा नियुक्त भएका शीर्ष नेताहरुको बहुमतको सरकार बनाउन व्यस्त हुँदै कार्यकाल भ्याइन्छ । कुनै व्यक्ति चाहे अपराधी होस्, चाहे बलात्कारी, चाहे हत्यारा होस् चाहे भ्रष्टचारी, पार्टीको समर्थक हो भने त्यसले अभय दान पाइ हाल्छ वा उसलाई कम सजायको हकदार बनाइन्छ । राजनीतिक पद सार्वजनिक महत्वको पद हो । सार्वजनिक महत्त्वको पदलाई दुरुपयोग गर्ने विरुद्ध सटिक ऐन कानून बनेकै छैन ।

प्रतिव्यक्ति ऋणको भार झन् झन् चुलिदै

यस वर्षको असार मसान्तसम्ममा नेपालको बक्यौता सार्वजनिक ऋणको दायित्व २१ खर्ब ७३ अर्ब २२ करोड ७६ लाख ९४ हजार २४८ पुगेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालको आन्तरिक र बाह्य ऋण तिर्न बाँकी रहेको देखिन्छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशित गरेको नेपालको सन् २०२१ को जनगणना अनुसार कुल जनसंख्या २९,१६४,५७८ रहेको छ । कुल जनसङ्ख्यासँग कुल सार्वजनिक ऋणको तुलना गर्दा प्रतिव्यक्ति ऋण ७४ हजार ५१६ रुपैयाँ आउँछ ।

सरकारले यो आर्थिक वर्षको बाँकी अवधिमा थप ऋण लिने उद्देश्य राखेको छ । लिएको ऋण तिर्न सरकारसँग आधार छैन तर ऊ ऋण लिन डराउँदैन । के देशलाई पूर्वनिर्धारित योजना अनुरुप नै टाट पल्टाउन खोजिदै छ ? जनताले खोजी गर्नु आवश्यक छ ।

अरुको सल्लाहले राजा बन्नुभन्दा आफ्नै निर्णयले भिकारी बन्नु बेश भन्ने मान्यता छ । ऋणै ऋणको अस्वाभाविक भार मात्रै देशले कहिलेसम्म थेग्न सक्छ यो कुराको कसैलाई रत्तिभर ध्यान छैन । प्रतिव्यक्ति हुन आउने ऋणलाई शून्यमा झार्नका लागि ऋण लिनु सार्थक नै हो तर प्रत्येक वर्ष जनतालाई थप ऋणको भारमा पार्नु राष्ट्रिय राजनीति सही दिशातर्फ उन्मुख भएको संकेत होइन ।

जनताले नेताहरुको अवसानमा खुशी हुनुपर्ने, सबै पुराना नेताहरु मरिजाउन् भन्दै श्राप हाल्नुपर्ने अवस्थामा पुग्नुभन्दा राष्ट्रिय निर्वाचनको प्रक्रियाबाटै मत परिवर्तन गरेर देशलाई जोगाउनु नै सर्वाेत्तम कदम हो ।

सुवास नेम्वाङलाई सरकारको राजकीय सम्मान

संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राजकीय सम्मान दिने निर्णय गरेको छ । उनको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णयसमेत सरकारले गरेको छ ।

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको आज बिहान निधन भएको थियो । आज बिहान प्रधानमन्त्री तथा मन्त्रिरिषदको कार्यालय सिंहदरबारमा मन्त्रिरिषदको कस्मिक बैठक बसेको थियो ।

बैठकले, नेम्वाङले संविधान निर्माणको क्रममा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेकी शर्माका अनुसार शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत सरकारले गरेको छ ।

नेम्वाङका छोराहरु विदेश भएकाले उनीहरु फर्किएपछि मात्र अन्त्येष्टि गरिने छ । उनको अन्त्येष्टि यही भदौ २८ गते गर्ने तयारी छ । अन्त्येष्टिको दिन सार्वजनिक बिदा हुनेछ ।

अन्त्यमा

राष्ट्रघात र हृदयघातलाई एउटै दर्जामा राखेर हेरिनुपर्दछ किन कि यी दुवै घातले अस्तित्व नै मेटाइदिन्छ । योग्यता र असल चरित्र बिनाका नेताहरु देश र जनताको मित्र हुन सक्दैनन् । गलत नेतृत्वले देशको राजनीतिमा आश्रय पाउनु हुँदैन किनकि देश डुब्ने सम्भावना उच्च रहन्छ । नेपालको राजनीति ‘एक्सक्युज’ को सिद्धान्तमा टिकिरहनु राष्ट्रियतालाई खतरा हो । ऐन कानून कडाभन्दा कडा बनाइनुपर्दछ ताकि गलत निर्णय लिने नेताहरु उम्किन नपाउन् । एउटा वाहन चलाउन त तालिम प्राप्त, लाइसेन्स प्राप्त योग्य व्यक्तिको खोजी गरिन्छ भने देश चलाउने नेता कस्तो हुनु पर्दछ भनिरहनु नपर्ला । देशरुपी हवाईजहाजको पाइलट नेता नै हो । पाइलटलाई आकाशमार्गमा उड्दै गरेको बेला गल्ती गरेर ‘सरी’ भन्ने छुट छैन । १९ वर्षको हुँदादेखि नै विद्यार्थी राजनीति सुरु गरि २० वर्षकै उमेरबाट कम्युनिष्ट राजनीति थालेका र जो ४ पटकसम्म सर्वसम्मत सभामुख बनेका नेम्वाङ जस्तो नेता विरलै जन्मिन्छन् । उनको अवसानप्रति हार्दिक श्रद्धाञ्जली । ७१ वर्षीय शरीरलाई त्यागेको दिवंगत आत्माले सदगति प्राप्त गरोस् । लाइफ अकाउन्ट बाँकी रहेका नेताहरु बेलैमा सच्चिउन् ।

 

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर