Sat2024 July 27
२०८१ साउन १२, शनिबार

सम्पादकीय:बाह्य भौतिक वस्तुको दासताभन्दा अस्वस्थ मनोवृत्तिको दासता ज्यादा खतरनाक

19

अन्तर्राष्ट्रिय स्तरमा दासता उन्मूलन दिवस मनाइरहँदा यतिबेला पनि कतै कानून, कतै प्रलोभन त कतै सुविधा र पदोन्नतिको नाममा मानिसलाई कुनै न कुनै रुपमा दासतुल्य जीवन जिउन बाध्य बनाउने क्रम रोकिएको छैन । नागरिकको स्वतन्त्र अभिव्यक्तिको अधिकार आज पनि खोसिन्छ । गणतन्त्रको रक्षाकै नाममा लोकतन्त्रको गला दबाउने कार्य आज पनि भइरहेको छ । एउटा ट्युमर हटाउने नाममा १०० वटा गहिरा जखमले मानिसको देह क्षतविक्षत पारेर असीमित मानसिक पीडा दिइनु पर्दछ भन्ने खालका सिद्धान्तको नयाँ स्वरुपमा प्रयोग आज पनि भइरहेको छ ।

लोभ, लालच, हिंसक व्यवहार, अपराध, धाकधम्की, भ्रष्टाचार, बलात्कार, गरिबी, बेरोजगारी, महँगी आदिको दासताबाट नागरिकले मुक्ति पाएका छैनन् । मानव जीवन प्रलोभनरुपी दासताको जंजिरले झन्भन्दा झन् जकडिदै गएको छ । अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाइरहँदा बाहिरी दासताको चङ्गुलबाट भलै मुक्ति पाएको तृष्णाजन्य सुखानुभूति त हुन्छ तर स्वयंभित्रको काम, क्रोध, लोभ, मोह, अहँकार जस्ता विकारहरुबाट मुक्त हुन भने मानव जाति इच्छुक देखिदैन ।

आवश्यकताभन्दा अधिक धनार्जन, अतिरिक्त भौतिक सुविधाका संसाधनहरुको संचयीकरण, मानसम्मान प्राप्तिको लालसा, म सर्वश्रेष्ठ–मैलै गरेको भन्ने अहमत्याइँ, यौनसुख प्राप्तिको क्षुधा, भ्रमको खेती र स्वार्थको पूर्ति, व्यभिचार र अनैतिक सम्बन्ध विस्तार आदिलाई मानिसले आफ्नो गन्तव्य ठानेको देखिन्छ । यसैमा परम आनन्द र असीम सन्तोष छ भन्ने मान्यता बलियो भएको भेटिन्छ । वास्तवमा त्यस्तो होइन । यस गन्तव्यको परिणति परमानन्द र असीम सन्तोषभन्दा ठीक विपरीत छ भन्ने कुराको सत्य अनुभूतिबाट मानिसहरु आफूले आफैलाई वञ्चित राख्ने काममा व्यस्त देखिन्छन् । यथार्थमा यही अवस्था दासता हो । यसबाट स्थायी उन्मुक्ति पाउनका लागि व्यक्ति आफै जिम्मेवार हुनुपर्दछ ।

भ्रष्टाचार, बलात्कार, गरिबी, बेरोजगारी, महँगी, अपराध आदि बाट राज्य व्यवस्थाले मुक्ति दिलाउन सक्नुपर्दछ, यो राज्यको दायित्व हो, यो दायित्व पूरा गर्न सक्ने व्यवस्था नभएका देशहरु असफल मानिन्छन् भने देश, समाज, मानवजाति र आत्म–कल्याण विरुद्धको मनोवृत्तिबाट मुक्ति पाउनु व्यक्ति स्वयंको कर्तव्य हो, यो कर्तव्य पूरा गर्न नसक्ने व्यक्तिको जीवन मात्रै होइन, दुर्लभ जन्म नै व्यर्थ मानिन्छ ।

भौतिक संसाधनको दासता यस्तो बन्धन हो जसले परमार्थपरायणताको मार्गमा अवरोध उत्पन्न गर्दछ । बाह्य भौतिक वस्तुको दासताको तुलनामा व्यक्तिमा अन्तर्निहित अस्वस्थ मनोवृत्तिको दासता ज्यादा खतरनाक हुन्छ भन्ने कुरा सबैले बुझ्नु आवश्यक छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर