Sat2024 July 27
२०८१ साउन १२, शनिबार

सम्पादकीय

25

मलाई आज पनि सम्झना छ, म कक्षा ५ मा अध्ययन गर्दाको त्यो एक दुःखद घटना थियो । भारतको जम्मु कश्मीर अन्तर्गत कुपवाडा जिल्लामा पर्ने कुपवाडा एक प्रसिद्ध नगर छ । यस नगरको बजार क्षेत्रभन्दा केही किलोमिटर माथि टाकुरामा भारतीय सीमा सुरक्षा बलको क्याम्प थियो । सीमा सुरक्षा बलका सिपाहीहरुका बालबालिकाको शिक्षाका लागि त्यहाँ कक्षा १० सम्मको अंग्रेजी माध्यममा अध्यापन गराइने एक विद्यालय सञ्चालित थियो । दिन, महिना, साल मलाई याद छैन तर उक्त घटना आज पनि स्मृतिमा ताजै छ ।

घटना यस्तो थियो
मध्याह्नको समय थियो । रिसेस टाइम अर्थात् इन्टरवल थियो । विद्यार्थीहरु आ–आफ्नो घरबाट ल्याएको नास्ता खाएर दौड्न, खेल्न, रमाउन व्यस्त थिए । रिसेस टाइममा पानी ट्याङ्करले स्कूलको वाटर ट्याङ्कमा पानी भर्दै थियो । प्लास्टिकका टुईवटा पानीको टंकी भरिए पछि अब गाडीका ड्राइवरले पाइपहरु समेटेर गाडी स्टार्ट गरे । विद्यालय फलामे काँडेतारले घेरिएको थियो । काँडेतार घेराभन्दा बाहिरै पिचबाटोबाटै टंकीमा पानी भरिएको थियो । त्यही समयमा एक साना बालक गाडीको पछिल्लो टायरनिर खेल्दै थिए । रोड ओरालो भएकाले स्टार्ट गर्नसाथ मन्द गतिमा गाडी ब्याक भयो । ट्याङ्करको दायाँ भागको ब्याक टायरले बालकलाई कुल्चिदियो जसका कारण उनको ठाउँमै प्राण गयो ।

यो एक घटना मात्रै नभई दुर्घटना थियो । मैले बिर्सेको छैन । निज बालक सीमा सुरक्षा बलको सिपाहीका छोरा थिएनन् । सिविल बालबालिकालाई पनि पठनपाठन गर्न दिइन्थ्यो । कुपवाडा बजारमा व्यापार व्यवसाय गर्ने दम्पत्तिका एक्लो छोरा थिए उनी । दुर्घटनामा छोराको ज्यान गयो भन्ने खबर केही बेरमै आमाबुवालाई पुर्याइयो । उनीहरुले छोराको शव बुझे अनि अन्तिम संस्कार गरिदिए । उनीहरुले छोराको ज्यानको बदलामा कुनै पनि शर्त राखेर क्षतिपूर्तिको माग गरेनन् । ड्राइवरले जानाजानी ज्यान लिएका होइनन्, आफ्नो भाग्यमा अल्पायु पुत्र शोक रहेको भन्दै उनीहरुले कसैलाई दोष दिएनन् ।

यता यो दुर्घटना आफ्नो लापरवाहीले भएको भन्दै सीमा सुरक्षा बलका ड्राइवर सिपाहीले अबदेखि जिन्दगी कहिलै गाडी नचलाउने कसम खाए । कहिल्यै क्षतिपूर्ति नहुने गरी अल्पायुमै छोराको मृत्यु निम्त्याउने उक्त दुर्घटनाले सबैलाई पाठ पढायो, व्यक्ति कतिसम्म महान् हुन्छन् भन्ने कुराको परिचय दियो अनि क्रमशः सो कठिनतम परिस्थिति साम्य पनि भयो ।

मानिसहरुको सोच कस्तो हुनुपर्छ त्यो सिकाउने विषय नै होइन । विवेक, चेतनाले व्यक्तिको सोच्ने शैली र व्यक्तित्व निर्माण गरेको हुन्छ । तात्विक ज्ञान भएकाहरुले समाधान र आत्म–कल्याणको मार्ग रोज्दछन् । उनीहरु लोभ लालचमा पर्दैनन् । लोभ लालचले कहिल्यै कसैको कल्याण भएको इतिहास वा अभिलेख नै छैन । हालै एउटा घटना बाहिरिएको छ । प्रसूतीपछि आमाको मृत्युले अस्पतालको मेसु राजेन्द्र बस्याललाई अस्पताल भर्ना हुन बाध्य बनाएको छ । बच्चा जन्माएको अर्काे दिन सुत्केरी महिलाको ज्यान गएपछि मृतक पक्षबाट बस्याललाई निर्घात कुटपिट मात्रै होइन, क्षतिपूर्ति समेत माग्ने काम गरियो । सुत्केरीको मृत्युलाई मृतकका निकटजनबाट अवसरको रुपमा हेरिदा मेडिकल सुपरिटेन्डेन्ट आफै समस्यामा परे । बैठक बस्दाबस्दै प्रहरीको उपस्थितिमै उनी माथि हातपात भयो । उनको अहिले प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ जुन अत्यन्तै लज्जाको विषय हो । बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा सुत्केरीको मंगलबार मृत्यु भएको थियो । बच्चा स्वस्थ छ ।

कुनै पनि डाक्टर वा अस्पतालले विरामी मारेर केही लाभ छैन । असफल उपचारले चिकित्सा क्षेत्रलाई लोकप्रिय बनाउँदैन, बरु बदनामी धेरै हुन्छ । यदि डाक्टर र अस्पतालले लापरवाही गरि नै हाल्यो भने पनि त्यसरी हातपात गर्नुको कुनै अर्थ छैन । त्यसकालागि कानून छँदै छ । कानूनी प्रक्रियाको माध्यमले क्षतिपूर्तिको माग गर्न सकिन्छ , यसका लागि अपराध वा कसूर प्रमाणित हुनै पर्दछ । प्रमाणित भइ आएमा पीडितको पक्षमा अदालतले फैसला गरि नै हाल्छ । यद्यपि कानूनको जटिल प्रक्रियाले टुङ्गोसम्म पुर्याउन लामै समय लिन्छ । तर कानूनलाई हातमा लिएर अराजकताको नजिर बसाल्नु भोलिका दिनहरुमा विरामीहरुलाई संकटको निमन्त्रणा हो । सजिलै उपचार हुनसक्ने विरामीलाई यहाँ उपचार सम्भव छैन भनेर अन्यत्र रेफर गरियो भने विरामीको बाटोमै ज्यान जान सक्छ । यस्ता धेरै केसहरु छन् । अस्पतालले रेफर गरेको होस् वा विरामीका आफन्तले झन् राम्रो अस्पतालमा उपचार गराउँछु भनेर लैजाँदाका केसहरु होउन्, लैजाँदा लैजाँदै बाटोमै विरामीको ज्यान गएको हामीलाई थाहा जानकारी नभएको होइन ।

उपचारको क्रममा विरामीको मृत्यु अस्पताल पक्षको लापरवाहीका कारण भएको शंका भइ आएमा, सम्बन्धित निकायलाई सूचना दिनु पर्दछ । त्यसको सत्यतथ्य पत्ता लाउन प्रहरी निकाय छ । प्रहरीको काम प्रहरीलाई ने गर्न दिनुपर्दछु । आफै प्रहरी बन्नु हुँदैन । अदालतको काम अदालतलाई गर्न दिनुपर्दछ । आफै अदालत, आफै न्यायाधिश बन्नु हुँदैन । सचेत नागरिकको दायित्व अन्तर्गत प्रत्येक नागरिकले सभ्यता र अनुशासनको परिचय दिन सिक्नु पर्दछ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर