तर, सरकारको पर्खाइमै छन् नागरिक !
काठमाडौँ । १० दिने अमेरिका भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली सोमबार अपराह्न स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिएर सोमबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीसँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेर सञ्चारकर्मीको सवालजबाफ पनि भयो । सवालजबाफका क्रममा सञ्चारकर्मीले विपद्का बेला सरकारको भूमिका नदेखिएकोबारे प्रश्न राखेका थिए ।
जबाफमा ओलीले सरकारले प्रभावकारी काम गरेको दाबी गर्दै आफ्नै सरकारको झुटो तारिफ गरे । ‘सरकारले तदारूकताका साथ उद्धार गर्ने र राहत पुर्याउने हो, त्यो पुर्याएको छ,’ ओलीले भने । प्रधानमन्त्रीले यसो भनिरहँदा सोमबारसम्म पनि विभिन्न राजमार्गमा यात्रुहरू अलपत्र परेको तथा कतिपय स्थानमा पीडितहरूले ओत लाग्ने ठाउँ पनि नपाएका समाचार आइरहेका छन् ।
एम्बुलेन्स र गाडीमा उपचारका लागि अस्पलात हिँडेका बिरामीहरूको समयमै उद्धार हुन नसक्दा मृत्यु भएका खबर सरकारसम्म पनि पुगेका थिए । देशको राजधानी काठमाडौँमै उद्धारको पर्खाइमा रहेका नागरिकको समयमै उद्धार हुन नसक्दा बाढीले बगाएको भिडियो राज्यका सम्पूर्ण संयन्त्रले देखेका पनि छन् । हामीले उद्धार गर्न सकेनौँ भनेर सरकारले हात ठड्याइरहँदा एक जना आमनागरिकले २ जनाको ज्यान बचाएको विषय पनि सरकारले देखेकै थियो । आफूले नसकेको काम ती नागरिकले गरिदिँदा आफ्नो लाज छोप्न सम्मानको सहारा लिइरहँदा देशका प्रधानमन्त्रीले कसरी सरकारले प्रभावकारी काम गरेको भन्ने जबाफ दिए भन्ने प्रश्न उठेको छ ।
प्रधानमन्त्री ओली अमेरिकामै रहँदा नेपालमा अविरल वर्षा भयो र जनधनमा क्षति पुर्यायो । स्वदेशमा विपद् निम्तिँदा प्रधानमन्त्रीले कार्यक्रम छोट्याएर स्वदेश नफर्केको भन्दै ओलीको आलोचना पनि भयो । तर, प्रधानमन्त्री भने आफ्नो र सरकारको बचाउमा मात्र देखिए । प्रधानमन्त्रीले त उल्टै विपद्का बेला सरकारले केही गर्न नसकेको भन्नु ‘विरोधका लागि विरोध’ मात्रै भएकोसम्म भन्न भ्याए ।
उनले भने, ‘विरोधका लागि विरोध होला । सरकारले गर्नेसम्मको प्रयास गर्यो । तत्काल बैठक गरेर सेना, प्रहरी परिचालन गरेर उद्धार गर्यो । अब बाढी आउने कुरालाई त रोक्न सकिँदैनथ्यो ।’ ओलीले सञ्चारकर्मीसँगको कुराकानीमा बाढीपहिरो पहिले नै भनेर नआउने भन्दै सरकारले आफ्नो बुताले भ्याएसम्म काम गरिरहेको र यस्तो बेला सबै मिलेर यथार्थपरक भएर जानुपर्ने उल्लेख गरे ।
यसैबीच, प्रधानमन्त्री ओलीले बाढीपहिरो प्रभावित क्षेत्रमा अझ प्रभावकारी ढंगले उद्धार, राहत र पुनर्निर्माणको काम अगाडि बढाउने प्रतिबद्धता जनाए । तर, विपद् आउँदै छ भनेर सरकारी संयन्त्रले नै ५६ जिल्लामा रेड अलर्ट गरे पनि सरकारले किन पूर्वतयारी गरेन ? भन्ने प्रश्नमा उनी सरकारको बचाउमा उभिए ।
‘रेड अलर्ट भनेर पूर्वानुमान गरे पनि कहाँ–कहाँ पहिरो जान्छ भनेको थिएन । पहिरो गएपछि न थाहा भयो । काठमाडौँमा यति डुबान हुने गरी वर्षा होला भन्ने कल्पना पनि थिएन,’ ओलीले भने, ‘यस्तो कुरालाई वस्तुपरक ढंगले लिनुपर्छ ।’