Sat2024 July 27
२०८१ साउन १२, शनिबार

सरकार देशलाई समृद्ध बनाउन सक्रिय : उपप्रधानमन्त्री श्रेष्ठ

16

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वृद्धवृद्धालाई समृद्धिको लहरको अनुभूति गराउन सरकार क्रियाशील रहेको बताएका छन्  ।

आज यहाँ भृकुटीमण्डपमा आयोजित दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो–२०८० को उद्घाटन गर्दै उनले सामाजिक न्यायसँगै आर्थिक समृद्धि वर्तमान राष्ट्रिय दायित्व भएको बताए ।

उनले राष्ट्रिय पूँजीको विकासमा निजी क्षेत्रको सक्रिय भूमिका औँल्याउदै देशलाई सामाजिक र आर्थिक रुपमा समृद्ध बनाउन सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।

‘राजनीतिक परिवर्तनपछि जनताको जीवनशैलीमा परिवर्तनको अनुभूति गराउन वर्तमान सरकार सक्रिय छ, सरकारको अभियानमा सबै क्षेत्र हातेमालो गर्नुपर्छ’, उपप्रधानमन्त्री श्रेष्ठले भने ।

स्वदेशी उत्पादन निर्यात गरेर मात्रै मुलुकको व्यापार घाटा कम गर्न सकिने बताउँदै गृहमन्त्रीले आयातलाई निर्यातमा विस्थापित गर्न सबैलाई आह्वान गरे । घरेलु तथा साना उद्योगबाट उत्पादित स्थानीय हस्तकलाका उत्पादनलाई प्रवद्र्धन गरी अन्तर्राष्ट्रिय बजारमा विस्तार गरी निकासीमा सहयोग पु¥याउने उद्देश्यले आजदेखि एक्स्पो शुरु भएको हो । असोज १६ गतेसम्म चल्ने एक्स्पोमा लत्ताकपडा, झाडु, खाद्यवस्तुलगायत स्वदेशी उत्पादनका धेरै स्टल राखिएका छन् ।

प्रदर्शनीमा जडिबुटी औषधि, प्रजाति, हस्तकला, आदिवासी राउटे र चेपाङ समुदायले बनाएका काठका भाँडा, तेह्रथुम जिल्लाको ढाका टेक्सटाइल, भोजपुर जिल्लाको खुकुरी, संखुवासभा जिल्लाको करुवा, अर्गानिक कच्चा पदार्थबाट बनाइएका सौन्दर्य सामग्रीको स्टल राखिएको छ ।

साथै, पश्मिना उत्पादन, क्युरियो उत्पादन, गार्मेन्ट, गलैंचा, नेपाली कागज, धातुका शिल्प, फेल्ट उत्पादन, ढाका टेक्सटाइलबाट बनेका उत्पादनहरु समेत प्रदर्शनीमा राखिएको आयोजकले जनाएको छ ।

प्रदर्शनीमा भारत, चीन, अमेरिका र क्यानडाका साथै अन्य युरोपेली मुलुकका ५०० भन्दा बढी विदेशी खरिदकर्ताको सहभागिता रहेको एक्स्पोका संयोजक कपिल अधिकारीले बताए । नेपाली उत्पादनको निकासी प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा क्रेता र बिक्रेताबीच अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनेछ ।

हस्तकला प्रदर्शनी, समसामयिक विषयमा सेमिनारलगायत ५० हजारभन्दा बढी आगन्तुकलाई आकर्षित गर्ने लक्ष्य राखिएको कार्यक्रमको हिस्सा हो । (RSS)

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर