सम्पादकीय
बिगत २२५ वर्षदेखि नेपालले कुनै न कुनै राष्ट्राध्यक्ष वा राष्ट्रप्रमुख पाएको छ । गणतान्त्रिक व्यवस्थाको सुरुवातपछि पुष्पकमल दाहाल प्रचण्ड ३ पटक, माधवकुमार नेपाल १ पटक, झलनाथ खनाल १ पटक, बाबुराम भट्टराई १ पटक, खिलराज रेग्मी १ पटक, सुशील कोइराला १ पटक, शेरबहादुर देउवा २ पटक र केपी शर्मा ओलीले ३–३ पटक सरकारको नेतृत्व गर्ने अवसर पाए । १६ वर्षमा १३ पटक सरकार परिवर्तन भइसक्यो । तीन तीनवटा राष्ट्रपति यही १६–१७ वर्षमा देशले पाइसक्यो । केका लागि ?
शाहकाल, राणाकाल, संक्रमणकाल, पञ्चायतकाल र राजतन्त्रकालदेखि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था आइसक्दासम्म कुनै न कुनै नेतृत्वले देशको बागडोर सम्हालेको छ । केही नेतृत्वले देश जोगाए भने केही नेतृत्वले देशकै स्वाभिमानमाथि आघात गरे । भाषणमा मात्रै सुदृढता कायम राखेका नेतृत्वहरुको शासन भने अपेक्षाकृत हुन सकेन । जहिले अल्पमत र गठबन्धनको सरकारले नेपालको राजनीतिमाथि शङ्का र उपशङ्काको भुमरी पैदा गरिदियो । सत्ता, संसद र मन्त्रालयसम्म पुग्न सफल भएका नेताहरुको जीवनस्तर अपत्यारिलो ढङ्गबाट माथि उकासियो तर जनताले रोजगारी र शिक्षाका लागि देश छोड्नु तथा समस्यामा पर्नुबाहेक अरु केही पाएनन् ।
सरकारी कार्यालयहरुमा प्रदान गरिने सेवा शैली उही पारम्परिक प्रक्रियामुखी विधिको छ । सेवा लिन घन्टौँ वा दिनभरि लामबद्ध भई समय खर्चिनुपर्ने बाध्यता छ । देशले सम्बोधनमा पाउने नाम परिवर्तन भयो तर जनताले सुविधाको अनुभूति लिन सक्ने राज्यको काम परिवर्तन भएन । सत्ता वा सरकार परिवर्तनको नाटकीय खेलले अझै निरन्तरता पाइरहेको देखिन्छ । राजनीतिक खिँचातानीको प्रक्रियामा देशको अस्तित्व अन्योलिँदै गएको छ भने नेताहरुद्वारा खेलिएको यस जुधाइलो घम्साघम्सीको क्रिडाले नेपालको अन्तर्राष्ट्रिय छवि र यशको आँकडालाई द्रुत गतिमा तल झारेको छ । अन्तिमसम्म सत्तामा टिकिरहन सांसद किनबेचको प्रक्रियालाई राजनीतिमा सामान्य कुरा मानिन्छ । बहुमतमा पर्नेगरी सांसदहरु आफ्नो पक्षमा रहेनन् भने सत्ता नै गुम्छ । फेरि उही विश्वास र अविश्वासको मतको खेल । नेतृत्व परिवर्तन, सत्तामा पार्टी परिवर्तन, फेरि त्यही कुन मन्त्रालय कसलाई दिने सूत्रको गणना । भोटर्स बैंक र चढाउने दाम झोलामा लिएर हिन्ने नेताले मन्त्रालय पाउनुपर्छ भन्दै दाबी गर्छ ।
माछामाछा भ्यागुतोको झुक्याउने खेलमा नेताहरुले जनतालाई भुलाइनु अलवा केही गर्न सकेनन् । दैन्य जीवनस्तरमा सकारात्मक रुपान्तरण आवश्यक परेको छ तर जनताका आधारभूत आवश्यकताहरु चाहना र कल्पनामा मात्रै सीमित भए ।
पटक पटकको सरकार परिवर्तन होइन नेपाली जनताले एकपटक जीवनभरिलाई समृद्धि चाहेका छन् ।