Sat2024 July 27
२०८१ साउन १२, शनिबार

सात प्रदेशमध्ये लुम्बिनीमा बाल मृत्युदर उच्च

14

मंसिर ५, रुपन्देही । लुम्बिनी प्रदेशमा पाँच वर्षमुनिका बाल बालिकाको मृत्युदर सात प्रदेश मध्येकै उच्च रहेको छ । देशमा समग्र बाल मृत्युदर घट्दै गए पनि लुम्बिनी प्रदेशमा बाल मृत्युदर मुलुककै सर्वाधिक रहेको एक तथ्याङ्कले जनाएको छ ।

नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) सन् २०२२ ले देशभरको समग्र बाल मृत्युदर ३.३ प्रतिशत देखाएको थियो ।

त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश स्तरमा बाल मृत्यु दरको अवस्थाबारे गरेको अध्ययनमा लुम्बिनी प्रदेशको बाल मृत्युदर सात वटा प्रदेश मध्येकै सर्वाधिक (४ प्रतिशत) रहेको तथ्यांकमा उल्लेख छ । लुम्बिनी प्रदेशमा हाल जीवित जन्मेका प्रति एक हजार बालबालिका मध्ये ४० जना बालबालिकाले आफ्नो पाँचौँ जन्मदिन मनाउन पाउँदैनन् तथ्यांकमा भनिएको छ ।

अध्ययन तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशमा नवजात शिशुको मृत्यु दर २.२ प्रतिशत रहेको छ । पाँच वर्षमुनिका बालबालिकाको मृत्यु दर उच्च रहे पनि नवजात शिशुको मृत्यु दर भने लुम्बिनी प्रदेशमा कम रहेको छ ।लुम्बिनी प्रदेश भन्दा सुदूरपश्चिम प्रदेशमा नवजात शिशुको मृत्युदर बढी (२.५ प्रतिशत) रहेको छ । यस्तै सुदूरपश्चिम प्रदेशमा पनि पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर झन्डै लुम्बिनी प्रदेशको बराबर नै (३.९ प्रतिशत) रहेको तथ्यांकमा उल्लेख छ ।

लुम्बिनी र सुदूरपश्चिम पछि कोशी प्रदेशको बालमृत्युदर (३.२ प्रतिशत) रहेको छ भने कोशी प्रदेशमा नवजात शिशु मृत्युदर पनि २ प्रतिशत रहेको छ । यस्तै गण्डकी प्रदेशमा बाल मृत्यु दर ३ प्रतिशत रहेको छ भने नवजात शिशुको मृत्यु दर १.८ प्रतिशत रहेको छ ।

त्यस्तै बाग्मती प्रदेश र मधेश प्रदेशको बाल मृत्युदर बराबर १.९ प्रतिशत रहेको छ भने नवजात शिशु मृत्युदर भने बाग्मती प्रदेशमा ०.९ प्रतिशत रहेको छ । तथ्यांकका अनुसार मधेश प्रदेशमा १ प्रतिशत रहेको छ भने सबै संख्या प्रति एक हजार जन्ममा हुने बालबालिकाको मृत्युको संख्या हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि सन् २०१६ मा गरेको सर्वेक्षणले प्रति एक हजार जीवित जन्मेमा ३९ बालबालिकाको मृत्यु हुने देखाएको थियो । पाँच वर्षको अवधिमा नेपालमा समग्र बाल मृत्यु दरमा ६ प्रतिशत कमी भए पनि लुम्बिनी प्रदेशमा भने बाल मृत्युदर बढ्दो देखिएको छ ।

स्वास्थ्य सेवाको पहुँचको हिसाबले सुगम रहेको लुम्बिनी प्रदेशमा कर्णाली र सुदूरपश्चिम प्रदेशको भन्दा स्वास्थ्यका सूचक घट्दै गएको छ । यो प्रदेशमा बाल मृत्युदर मात्रै होइन मातृ मृत्युदर समेत देशभरकै सबैभन्दा उच्च स्थानमा रहेको छ ।

स्वास्थ्य संस्थाको पहुँचको कुरा गर्ने हो भने यो प्रदेशमा ठूला मेडिकल कलेजदेखि प्रदेश स्तरीय विशिष्टीकृत सरकारी ठूला अस्पताल छन् भने भौगोलिक हिसाबले पनि स्वास्थ्य संस्थासम्म पुग्न अन्य केही प्रदेशका स्वास्थ्य संस्थाको तुलनामा सहज देखिन्छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका कन्सल्टेन्ट शालाक्य चिकित्सक डाक्टर पुष्पराज पौडेलका अनुसार पछिल्लो समय लुम्बिनी प्रदेशमा बाल तथा मातृ स्वास्थ्य सेवा कमजोर देखिनुमा सबै ठाउँको सही तथ्यांक आउन नसक्नु, अहिलेसम्म नीति योजना र कार्यक्रम बनाउँदा समताको ख्याल गरेर बनाउनु पर्नेमा सो अनुसार बनाउन नसक्नु, समाजले निर्धारण गरेका मुल्यमान्यताहरू, कुरितीहरूको कारण महिलाको निर्णय प्रक्रियामा पहुँच नहुनु, बालविवाह, सानै उमेरमा बच्चा जन्माउने, समयमा अस्पताल नपुर्याउनु, दक्ष चिकित्सकको अभाव जस्ता प्रमुख कारणहरू भएको बताउनु भयो ।

“हामीले स्वास्थ्य सेवा मात्रै भनियो गुणस्तरीय सेवाका विषयलाई ध्यान दिन सकिएन्, जसको कारण पनि यस्तो समस्या आएको हुनुपर्छ ।,” डा. पौडेलले भन्नु भयो ।  अबका दिनमा यो सवाललाई क्रसकटिङ्ग सवालकोरुपमा अगाडि बढाउन सकेमा बालमृत्यु दर र मातृ मृत्यु दरलाई कम गर्न सकिने र यसका लागि सबै सरोकारवाला निकायहरु जनप्रतिनिधि, स्वास्थ्य कर्मी, संचारकर्मी महिला स्वास्थ्य स्यंम सेविका, विकास साझेदार संस्थाहरूसँग समन्वय गरि आवश्यकता पहिचान गरि सचेतना मुलक कार्यक्रमहरू अगाडि बढानु पर्ने डा. पौडेलले बताउनु भयो ।

लुम्बिनी प्रदेशका कपिलवस्तु‚ बर्दिया र रोल्पा जिल्लामा संस्थागत सुत्केरी हुने दर एकदमै कम हुँदा नवजात शिशुको मृत्युदर बढेको र संस्थागत सुत्केरी भएको दर हेर्दा लुम्बिनी प्रदेशमा सरकारी स्वास्थ्य संस्थामा भन्दा निजी मेडिकल कलेज र अन्य निजी अस्पतालमा प्रसवको समयमा सुत्केरी महिला र नवजात शिशुमा हुने स्वास्थ्य समस्या धेरै रहेकोले पनि यस्तो समस्या हुन सक्ने विज्ञहरूको भनाई रहेको छ ।

‘तथ्यांकले समग्र प्रदेशको संस्थागत सुत्केरीको संख्यामा त्यति कमजोर नभए पनि लुम्बिनी प्रदेशमा सरकारी स्वास्थ्य संस्थाभन्दा निजी मेडिकल कलेज र अन्य निजी अस्पतालमा प्रसवको समयमा सुत्केरी महिला र नवजात शिशुमा हुने स्वास्थ्य जटिलता धेरै भएको र जसले गर्दा बालमृत्यु‚ नवजात शिशु र मातृ मुत्युमा समेत समस्या देखिएकोले यसका लागि समीक्षा गरेर अगाडि बढनुपर्ने विज्ञहरू बताउनु हुन्छ ।

 

रीमा बिसी/इन्सेक

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर