Sat2024 July 27
२०८१ साउन १२, शनिबार

सात वर्ष वितिसक्दा पनि क्षतिपूर्ति र सम्पूर्ण उपचार खर्च पाएनन् पीडितले

16

कैलाली । प्रहरीले चालाएको गोली लागेर घाइते भएको सात वर्ष वितिसक्दा समेत आफूले राज्यबाट क्षतिपुर्ति र सम्पूर्ण उपचार खर्च पाउन नसकेको जानकी गाउँपालिका—८ भगरैयाका २६ वर्षीय विरेन्द्र जैशीले गुनासो गर्नुभएको छ ।

प्रहरीले चलाएको गोली लागेर २०७३ फागुन १ गते छोरा घाइते भएको भए पनि हालसम्म राज्यबाट क्षतिपुर्ति र उपचार खर्च पाउन नसकिएको पीडितका बुवा कासीराम जैशीले गुनासो गर्नु भयो ।

घाइते छोराको उपचारका लागि सरकारले १ लाख ९१ हजार उपलब्ध गराएको भए पनि उक्त रकमले उपचार हुन नसकेपछि क्षतिपुर्ति तथा सम्पूर्ण उपचार खर्चको मागराखि ०८० असार १ गतेदेखि असार २५ गतेसम्म माइतिघर मण्डलामा अनसन बस्न बाध्यभएको पीडितका बुवा जैशीले बताउनु भयो ।

अनसन बसेको २५ औँ  दिनमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उपचारमा लागेको सम्पूर्ण खर्च सहित क्षतिपूर्ति र उचित रोजगारीको व्यवस्था गर्ने आश्वासन दिएपछि अनसन बस्न बन्द गरिएको भए पनि अहिलेसम्म राज्यबाट कुनै प्रकारको सहयोग प्राप्त नभएको पीडितका बुवा जैशीको आरोप छ ।

उहाँले भन्नु भयो— ‘छोराको उपचारमा हालसम्म १२ लाख रुपियाँ भन्दा बढी खर्च भइसकेको छ । नियमित चेकजाँच तथा औषधी उपचार गरिरहनु परेको छ । गृहमन्त्री श्रेष्ठले ८ लाख ५० हजार रुपियाँ दिने सहमती गर्नुभएको थियो । तर, सहमती अनुसार रकम उपलब्ध नगराउँदा आर्थिक अभावमा छोराको थप उपचार गर्न सकिएको छैन् ।’

शल्यक्रिया गरेर शरीर भित्रको गोली निकालिएको भए पनि पेट दुख्ने र ढाँड तथा कम्मरमा समस्या देखिएकोले नियमित औषधी खाइरहन डाक्टरले सल्लाह दिनुभएको भए पनि आर्थिक अभावका कारण नियमित औषधी खान नसकिएको पीडित बिरेन्द्र जैशीले बताउनु भयो ।

काठ तस्कारलाई गिरफ्तार गर्न गएको प्रहरी टोलीमाथि नै काठ तस्कारहरुको समूहले आक्रमण गरेपछि प्रहरीलाई सहयोग गर्न भनेर गएका जैशीलगायत स्थानीय युवामाथि नै सई बिर्जलाल अधिकारीले २०७३ फागुन १ गते गोली चलाउदा देब्रे कोखमा गोली लागेर जैशी घाइते हुुनुभएको थियो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर