Sat2024 July 27
२०८१ साउन १२, शनिबार

सामाजिक सेवा अन्तर्गत राष्ट्रिय स्तरका कार्यक्रमहरु ल्याउँदै ‘पहिलो पाइला नेपाल’

15

टिका सुवेदी, रुपन्देही, भदौ ३ । पहिलो पाइला नेपाल २०७४ सालदेखि सुरु भएको विशुद्ध सामाजिक संस्था हो । यो संस्था त्यस्ता युवाहरुको परिकल्पनाबाट जन्मिएको हो जो फेसबुक लगायतका सामाजिक सञ्जाल मार्फत् परस्पर जोडिएका छन् । गैर राजनैतिक र गैर नाफामूलक संस्थाको पहिचान बोकेर विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय यो संस्थामा विभिन्न १४ ओटा जिल्लाहरुबाट सदस्यता ग्रहण गरिसकेका ४०० बढी युवाहरुको सहभागिता रहेको छ ।

युवासँग कुनै लक्ष्य हुँदैन भने ऊ भित्रको योग्यता, सिर्जनशीलता र सम्भावना सबै नष्ट भएर जाने यथार्थलाई बुझेरै सामाजिक सञ्जालमा दिन कटाइरहेका युवाहरुले ‘जहाँ दुख्छ त्यहाँ पहिलो पाइला पुग्छ’ भन्ने सिद्धान्त बोकेर केही फरक गर्ने सोचका साथ काठमाडौमा पानीपुरी बेचेर फर अ कज इवेन्ट बाट पहिलो पाइला अगाडि बढाएका थिए ।

‘सानो झिलिङ्गोले वन डढ्छ भने जस्तै पहिलो पाइला नेपालले पनि समाजमा व्याप्त समस्या रुपी घना वनलाई एकताबद्ध योजना र योगदान रुपी शक्तिशाली आगोले जलाएर नष्ट पारी छाड्ने छ ।’ पहिलो पाइला नेपालका अध्यक्ष बिनोद बश्यालले बताए ।
यस अभियानमा जोडिएर उपाध्यक्ष पद सम्हालिरहेका सन्तोष बन्जाडेले बताए अनुसार पहिलो पाइला नेपालले भाग्य बोक्ने झोला, न्यानो माया अभियान, आकस्मिक रक्तदान लगायत विभिन्न ७ राष्ट्रिय अभियानको नेतृत्व गर्दै आएको छ । शिक्षा, स्वास्थ्य, वातावरण, मानव सुरक्षा, सरसफाइ जस्ता विभिन्न क्षेत्रमा आफूले सकेको योगदान दिन पाउँदा हामी खुशी छौं ।’ बनजाडेले थप्दै भने– हामीले युवा नेतृत्व विकासका क्षेत्रमा विभिन्न प्रकारका प्रशिक्षण कार्यक्रम चलाउनुका साथै युवा मैत्री स्थानीय निकायको परिकल्पना पनि गरेका छौं ।

भावी योजना अन्तर्गत पहिलो पाइला नेपालले युवा उधमशीलता प्रवर्धनका कार्यक्रम, सामाजिक उत्तरदायित्व बहस सहित आम नागरिकको चेतनास्तर स्वस्थ बनाउन जन सरोकारका चेतनामूलक कार्यक्रम, नेतृत्व ब्यक्तित्व तथा अन्य सिप विकास तालिम आयोजनाको नेतृत्व गर्ने बनजाडेले जानकारी दिए ।

अध्यक्ष बश्यालले दिएको थप जानकारी अनुसार किसानसँग समनवयात्मक सहकार्यमा कृषि विज्ञलाई जोडेर कृषि कर्मममा उत्प्रेरणा थप गर्ने अभियान, म पढ्छु अभियान, एक रुपैँया अभियान, जन्मदिनमा एक झोला अभियान सञ्चालन गर्ने तयारी पहिलो पाइला नेपालले गरिरहेको छ । उनले शाखा विस्तार तथा युवा सक्रियतालाई संस्थागत गर्न विभिन्न स्थानीय निकायहरुमा युवा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने पनि बताए ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर