Sat2024 July 27
२०८१ साउन १२, शनिबार

सामुदायिक वन भित्र टाइगर हिल पार्क निर्माण

16

कात्तिक ९, रुपन्देही । तनहुँको म्याग्दे गाउँपालिका–१ स्थित बाराही सामुदायिक वनमा पार्क निर्माण गरिएको छ ।

डिभिजन वन कार्यालय र सामुदायिक वन व्यवस्थापनको सहयोगमा टाइगर हिल पार्कको नामले निर्माण गरिएको हो ।

सामुदायिक वनका अध्यक्ष मुक्तिनाथ खनालले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले निकुञ्ज निर्माण गरिएको बताए । पार्क पृथ्वी राजमार्गबाट उत्तरतर्फ २०० मिटरको दुरीमा छ। पार्क भित्र बाघको मुर्ति पनि राखिएको छ । पार्क जाने बाटोमा सिँढी निर्माण गरिएको छ ।

पर्यटन निकुञ्जभित्र रक क्लाइम्बिङ, इको ट्रेकिङ, रक गार्डनिङ, भ्यू टावर, बर्ड अवलोकन र हाइकिङ सञ्चालन गर्ने सम्भावना रहेको खनालले बताए । ‘विभिन्न आकारका आकर्षक ढुङ्गाको संरचना, रुखमा सिसाको घर र पर्यटकका लागि गोलाकार विश्रामस्थल रहेका छन् । यसलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न प्रचारप्रसारमा ध्यान दिएका छौं ,’ उनले भने ।

जिल्ला डिभिजन वन कार्यालयले जिल्लाका विभिन्न स्थानमा ‘ग्रिनपार्क’ निर्माण गर्ने वार्षिक कार्यक्रमअनुसार जिल्लाका नयाँ पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्ने लक्ष्यका साथ पार्क निर्माण गरिएको सहायक वन अधिकृत काशीराज पण्डितले बताए ।

कुल रु ६ लाख २५ हजारको लागतमा पार्क निर्माण भएको हो । उक्त रकममा कार्यालयले रु पाँच लाख र बाराही सामुदायिक वनले रु एक लाख २५ हजार सहयोग गरेको छ ।

पार्कभित्र मिनी चिडियाखाना र पिकनिक स्थल बनाउने योजना पनि रहेको पण्डितले बताए ।

कार्यालयको सहयोगमा भीमाद नगरपालिका–९ मोहरिया र व्यास नगरपालिका–४ सिमलटारमा पनि ग्रीनपार्क निर्माण गरिएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर