Sun2024 July 21
२०८१ साउन ०६, आइतबार

सुख्खा खडेरीले मकैँ र धानको ब्याड खेतमै सुक्न थाले, किसान चिन्तित

19

सल्यान । लामो समयको सुख्खा खडेरीले मकैँ, तरकारी र धानको ब्याड खेतमै सुक्न थालेपछि किसान चिन्तित भएका छन् । वैशाख यता पानी नपर्दा जिल्लाका किसानले रोपेको मकैँको बिरुवा र तरकारी सुक्न थालेको छ भने धानको ब्याड जोगाउन किसानलाई मुस्किल परेको छ । खडेरीका कारण मकैको बिरुवा सुक्न थालेपछि चिन्तामा छन् । वैशाखको मध्यतिर मकैँ रोपिए पनि त्यसयता वर्षा नभएका कारण जिल्लाको ग्रामिण भेगमा मकैका बिरुवा मर्न थालेका हुन् ।

वैशाख सकिएसँगै एकपटक पनि वर्षा नभएपछि जिल्लाको छत्रेश्वरी, त्रिबेणी, बागचौर, सिद्धकुमाख, शारदा, बन्गाड कुपिण्डे लगाएतका स्थानीय तहका किसान लामो खडेरीका कारण मकैको बिरुवा मर्न थालेको भन्दै चिन्तित बनेका हुन् । छत्रेश्वरी गाउँपालिका–३ का किसान कुलबिर घर्तीले राम्ररी हुर्कँदै गरेको मकैका बिरुवा खडेरीको कारण अहिले धामधम ओइलाउन थालेका र पात सुक्न थालेको बताउनुभयो ।

वैशाख देखि खडेरी लागेको र अहिलेसम्म एकझर वर्षा नभएका कारण खेतबारीमा लगाएको सबै मकैका बिरुवा ओइलाएर मर्न थालेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो ‘राम्ररी मकैको बिरुवा हुर्कन लागेका बेला सुख्खा खडेरी सुरु भएकाले बिरुवा मर्न थालेका छन् ।  कतिपय किसानले गोडमेल गर्ने भैसकेको मकैँ समेत खडेरीले झन् मर्ने डरले गोडनुभएको छैन् ’ । मनसुन भित्रियो भन्ने सुनिन्छ तर अहिलेसम्म पानी परेका छैन् ।  पानी नपर्दा मकैँका बोटमा गुबाउरो खाने किराको प्रकोप देखिन थालेको छ । सायद भोकमरी पर्छ होला ।’ उहाँकाेले भन्नु भयाे ।

आकाशे पानीकै भरमा उत्पादन हुदैँ आएको बेमौसमी तरकारी खेतीलाई समेत बेलैमा पानी नपर्दा असर पुगेको छ । कृषि उपज बजार सञ्चालक समिति कपुरकोटका अध्यक्ष तिलक शर्माले लामो समयसम्म खडेरी पर्दा तरकारी उत्पादनमा ह्रास आउनसक्ने बताउनुभयो । ‘यहाँका तीन हजार बढी परिवार बेमौसमी तरकारी खेतीमा आबद्ध छन्, तर अधिकांश क्षेत्रमा सिँचाइ छैन्, खडेरीको मारमा किसान परेका छन्’ उहाँले भन्नुभयो ।

जिल्लाका पाखो डाँडापाखाका भिराला जमिनमा सिँचाइको सुविधा नहुदाँ यहाँ मकैँ खेती गरिन्छ । मकैँ र तरकारी खेतीमा मात्रै होइन् जिल्लामा धान खेतीका लागि राखिएको ध्यानको ब्याड जोगाउन समेत किसानलाई धौँ–धौँ छ । कुमाख र कालिमाटी क्षेत्रमा चैते धान रोपिएको छ भने पानीको समस्या नभएका केही क्षेत्रमा मात्रै धान रोपाई चलेको छ । तर धान उत्पादन हुने क्षेत्रको रुपमा रहेको शारदा नदि किनारको गरिज्युला फाँटमा भने किसानलाई धानको ब्याड जोगाउन मुस्किल छ ।

केही किसान पानी परेपछि ब्याड राख्ने सोचमा छन् । तर ब्याड राखिसकेका किसान भने कसरी ब्याड बचाउने भन्ने चिन्तामा छन् । जिल्लाको बागचौर नगरपालिका हुदैँ सिद्ध कुमाख गाउँपालिका, शारदा नगरपालिका, छत्रेश्वरी गाउँपालिका, त्रिबेणी गाउँपालिका र कालिमाटी गाउँपालिका भएर बग्ने शारदा नदिमा पानी निकै कम छ । शारदा नदिका कतिपय ठाउँमा पानी सुकेपछि कमिलाका ताँती देखिन्छन् ।

गरिज्युलाका किसान पवित्रा बुढाथोकीले गाग्रीमा पानी बोकेर धानको ब्याडमा सिँचाइ गर्ने गरेको बताउनुभयो । ‘शारदा नदि सुकिसकेको छ, कहि पानी भएको ठाउँमा पनि कम पानी हुँदा कुलोमा पानी जादैँन, पानी पर्ला भनेर ब्याड राखिहाल्यौँ, अहिले यही ब्याड बचाउन धौँ भो, खेत चिरा परेको छ, साँझ बिहान खोलाबाट २/४ गाग्री पानी ल्याएर ब्याडमा सिँचाइ गर्ने गरेका छौँ’ उहाँले भन्नुभयो । असार लाग्दासम्म धान रोपाईले चहलपहल बढ्ने गरिल्युला फाँट यो वर्षको अहिलेसम्म भने सुनसान छ ।

लामो समयदेखि परेको खडेरीका कारण मुहान तथा खोला सुकेपछि सिँचाइको समस्याकै कारण किसानले लगाएको मकैबाली, तरकारी र धानको ब्याड सुक्न थालेको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी ईश्वरी नारायण घर्तीले बताउनुभयो । ‘पहिले यस्तो समस्या थिएन्, जलवायु परिवर्तन ,अनधिकृत विकास, वनजङ्गल सखाप हुनु, बढ्दो शहरीकरण लगाएतका कारणले वातावरण प्रत्यक्ष असरले पानीका मुहान सुक्दै गएका छन्, पानीका मुहानको संरक्षणमा कसैले चासो नदिदा पनि यस्तो समस्या भएको हो’ उहाँले भन्नुभयो ।

उहाँले सिँचाई कुलो निर्माणका काम भइरहेको भएपनि पानीका मुहानै सुक्न थालेपछि खोलामा पानीको मात्रा घटेको बताउनुभयो । बर्खायाममा वृक्षारोपण गर्ने, पानीका मुहान संरक्षण गर्ने, वनजंगलको संरक्षण गर्ने, डोजरे विकासलाई कम गर्दा पानीको मात्रा बढाउन सकिने उहाँको भनाइ छ ।

कृषि विकास कार्यालय सल्यानका अनुसार जिल्लामा ४५ हजार ५ सय ६७ हेक्टर खेतीयोग्य जमिन मध्ये ३८ हजार ९ सय २६ हेक्टरमा मात्र खेती हुँदै आइरहेको छ । ७ हजार ५९ हेक्टर खेत र ३१ हजार ८ सय ६७ हेक्टर पाखो बारी रहेको जिल्लामा करिब १० हजार हेक्टरमा मात्र आंशिक तथा वर्ष भरी सिँचाइ सुविधा रहेको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर