Sat2024 July 27
२०८१ साउन १२, शनिबार

सुत्केरीको मृत्यु भएपछि आफन्तले कुटे मेसुलाई

16

१३ मंसिर, बुटवल। बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा सुत्केरी महिलाको मृत्युपछि मृतकका आफन्तले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालमाथि हातपात गरेका छन् । गुल्मी सत्यवती गाउँपालिका ठूलो लुम्पेमककी अन्दाजी ३५ वर्षीया भवानी राष्कोटी मगरको प्रसूति  मृत्यु भएपछि आफन्तले डाक्टर बस्यालमाथि कुटपिट गरेका हुन् ।

रास्कोटीलाई सोमबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । त्यही दिन अस्पतालमा उनले शल्यक्रियामार्फत स्वस्थ शिशुलाई जन्म दिएकी थिइन् । तर, मंगलबार ‘पल्मोनरी इम्बोलिजम’का कारण उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । रास्कोटीको मृत्युपछि उनका आफन्तहरु फर्किने तरखरमा थिए । त्यही क्रममा बाहिरबाट आएको एक समूहले अस्पताल र चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दैं चिकित्सामा संलग्न चिकित्सक विरुद्ध उक्साइएको थियो ।

कुटपिटबाट घाइते भएका बस्यालको लुम्बिनी प्रादेशिक अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ । बस्याल खतरामुक्त छन् । सोमबार शल्यक्रियामार्फत पाँच किलोग्रामको बच्चा जन्माएकी भवानीलाई मंगलबार हृदयघात भएर मृत्यु भएको आम्दा अस्पतालका प्रशासन प्रमुख खगेन्द्र क्षेत्रीको दाबी छ ।

भवानीको मृत्युपछि आक्रोशित मृतकका आफन्तले क्षतिपूर्ति बापत ५० लाख माग गरेका छन् । त्यति ठूलो रकम दिने अवस्था नभएको बताएपछि मेसु बस्यालमाथि कुटपिट भएको क्षेत्रीले बताए । मेसु बस्यालमाथि कुटपिटमा संलग्न भएको आरोपमा ७ जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टले जानकारी दिए ।

मंगलबार घटनापछि बिरामीका आफन्तहरु फर्किने तरखर गरिरहेका बेला बाहिरबाट आएका केही मानिसहरुले चिकित्सामा संलग्न चिकित्सक विरुद्ध उक्साइएको थियो । ‘उनीहरुले ५० लाख रुपैयाँ क्षतिपूर्तिको माग गर्दै अस्पताल तोडफोड तथा मेसुमाथि हातपात गरेका हुन्,’ उनले भने ।

घटनापछि नेपाल चिकित्सक संघ लुम्बिनी अञ्चल शाखाले विज्ञप्ती निकाल्दै वार्तामा बसिरहेको अवस्थामा प्रहरी प्रशासनकै अगाडि डा. बस्यालमाथि भएको कुटपिटको घोर निन्दा गरेको छ । ‘यस नेपाल चिकित्सक संघका आजीवन सदस्य तथा आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालज्यूमाथि वार्तामा बसिरहेको अवस्थामा प्रहरी प्रशासनकै अगाडि विभिन्न समूहहरुले गुण्डागर्दी र दादागिरी शैलीमा कुटपिट गरेकोमा यस चिकित्सक संघ घोर निन्दा एवं भत्र्सना गर्दछ,’ संघका अध्यक्ष डा. डिवी खत्री र महासचिव डा. पोखरेलद्वारा जारी संयुक्त विज्ञप्तीमा छ, ‘कानुनलाई हातमा लिएर मानव अधिकारको जघन्य उल्लंघन गर्दै प्रशासनकै अगाडि यस्तो अपराधिक कार्य हुनु यस समाज र देशका लागि पनि संवेदनशील कुरा हो ।’ विज्ञप्तीमा उल्लेख छ ।

संघले कुटपिटमा संलग्नलाई पक्राउ गरेर तत्काल कानुनअनुसार कारवाही गर्न समेत जोडदार माग गरेको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर