Sat2024 July 27
२०८१ साउन १२, शनिबार

सुन पसलमा आगलागी हुँदा प्रहरीसहित २८ जना घाइते

15

विराटनगर । मोरङको उर्लाबारी ७ स्थित सुन पसलमा आगलागी हुँदा प्रहरीसहित २८ जना घाइते भएका छन् । आगोको लप्काले भेट्दा जलेर गम्भीर घाइते भएकाहरुको झापा र मोरङका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । काठमाडौं लैजान पर्ने घाइतेका लागि अस्पतालसँग कोसी प्रदेश सरकारले समन्वय सुरु गरेको छ ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार लक्ष्मीपूजाको दिन (आइतबार) राति इटहरा रोडका दीपक कार्कीको घरमा रहेको सुन पसलमा आगलागी भएको हो ।‌

आगो निभाउन खटिएका प्रहरी सहायक निरीक्षकसहित चार प्रहरी र थप २४ स्थानीय जलेर घाइते भएको इलाका प्रहरी कार्यलय उर्लाबारीका प्रमुख देबेन्द्र दासले जानकारी दिए । घटनमा उद्धारमा खटिएका प्रहरी सहायक निरीक्षक चुडामणि प्रधान, प्रहरी सहायक हवल्दार मनबहादुर घिसिङ, प्रहरी जवानहरू रितिकिरण राई र दिलकुमार आचार्य घाइते छन् ।

घाइतेमध्ये १२ जना बीएन्डसी अस्पताल बिर्तामोड,पाँच जना न्युरो आर्या विराटनगर,  सातजना विराट नर्सिङ होम विराटनगर, विराटनगरको रेडप्लस अस्पतालमा दुईजना,  लाइफलाइन अस्पताल दमकमा एकजना र गोदावरी अस्पताल उर्लाबारीमा एकजनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आगोको लप्काले भेट्दा चारजनाको शरीर करिब ५० प्रतिशतभन्दा बढी जलेको छ । उनीहरूलाई कोसी प्रदेश सरकारको समन्वयमा थप उपचारका लागि काठमाडौं लग्ने तयारी थालिएको छ ।

मुख्यमन्त्री केदार कार्कीले घाइतेको उपचारमा कुनै समस्या हुन नदिन सरकारले अस्पतालहरूसँग समन्वय गरेको बताए । उनले भने, “चिकित्सकको सल्लाहअनुसार काठमाडौं लग्न पर्ने भए बर्न अस्पतालमा उपचार प्रबन्ध गर्न हामीले समन्वय गरिरहेको छौँ ।”

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर