Sat2024 July 27
२०८१ साउन ११, शुक्रबार

सुन प्रकरणमा चिनियाँ नागरिक पक्राउ

18

काठमाडौँ । नेपाल प्रहरीले गत बिहीबार नागढुङ्गाबाट बरामद भएको दुई किलोग्राम सुन प्रकरणमा चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बरामद सुन ओसारपसारमा संलग्न रहेको आरोपमा काठमाडौँको सोह्रखुट्टे बस्दै आएका २७ वर्षीय चिनियाँ नागरिक चेन झिउइलाई आइतबार पक्राउ गरेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले सुन ओसारपसारमा संलग्न रहेको आरोपमा झिउइलाई पक्राउ गरेको राससलाई जानकारी दिए ।

गत बिहीबार प्रहरीले बागमती प्रदेश-०१-०२८ च २६९७ नंको स्कोर्पियो गाडीको गियर बक्सबाट दुई किलो सुन बरामद गरेको हो ।

रसुवाबाट सुन लिएर काठमाडौँ आउँदै गरेका रसुवा गोसाइँकुण्ड गाउँपालिका घर भएका २८ वर्षीय ग्यालछिरिङ तामाङ, २६ वर्षीय बिरु तामाङ र १९ वर्षीय सुनिल भुजेललाई प्रहरीले बिहीबार नै पक्राउ गरेको थियो ।

तीन जनाको सूचनाका आधारमा आइतबार थप एकजनालाई पक्राउ गरिएको प्रवक्ता रेग्मीले बताए ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर