काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादवसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले सेवाग्राहीबाट पाँच लाख रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।
मंगलबार अख्तियारले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । मुद्दा दायर गरिएका अर्का दुई व्यक्तिमा सोही गाउँपालिकाका लेखापाल टेकनारायण यादव र एमआईएस अपरेटर वीरेन्द्रकुमार यादव छन् ।
अख्तियारले उनीहरूसँग पाँच लाख रुपैयाँ बिगो दाबी गरेको छ । उनीहरूलाई अख्तियारको टोलीले केही दिनअघि सेवाग्राहीबाट घुसबापत लिएको दुई लाख रुपैयाँ नगद र तीन लाखको बैंक चेकसहित नियन्त्रणमा लिएको थियो ।
विष्णुपुर गाउँपालिकामा सोलार बत्ती जडान कार्यलगायत आयोजनाको कार्य सम्पन्न गर्दा उनीहरूले सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ । अध्यक्ष थुनामा परेपछि उक्त गाउँपालिकाको कार्यालय कार्यवाहक अध्यक्ष रेणु कुमारी यादवको नेतृत्वमा सञ्चालन भइरहेको छ ।