Sat2024 July 27
२०८१ साउन १२, शनिबार

हर वर्ष आउँछ बाल दिवस, पूर्ण बालमैत्री व्यवस्था आउँदैन, कहिलेसम्म ?

20

प्रत्येक वर्ष भाद्र २९ गते नेपालले यी बालबालिका र उनीहरुको सुरक्षा र संरक्षणका लागि बाल दिवस मनाउने गर्दछ । नेपालले सन् १९९० सेप्टेम्बर १४ मा बालअधिकारसम्बन्धी महासन्धिलाई अनुमोदन गरेको र बाल विकास, बालअधिकारको संरक्षण र संरक्षणका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धता व्यक्त गरेको दिनको अवसरमा हरेक वर्ष भाद्र २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

गत वर्ष जस्तै नयाँ बाल दिवस मनाउने क्रममा अभिभावकले आफ्ना बालबालिकासँगको सम्बन्धबारे सोच्नुपर्छ । अभिभावकहरुको आधुनिक जीवन धेरै व्यस्तताले भरिएको छ । जति व्यस्त भए पनि उनीहरु आफ्नो सपना, चाहना, दैनिक आवश्यकता लगायतका महत्त्वपूर्ण पक्षहरुलाई जसरी नि केही समय दिन्छन् नै, ठीक त्यसरी नै बालबालिकाहरु प्रत्येक माताको जिन्दगीकै सबैभन्दा अनमोल उपहार हुन्, उनीहरुका लागि समय निकाल्नै पर्छ । जति किमती उपहार भए पनि त्यसको स्याहार सम्हार हुँदैन र त्यसमा रुचि राखिदैन भने त्यो क्रमशः महत्त्वहीन बन्दै जान्छ, त्यसलाई धुलो, धुवाँ, फोहोर मैलाले ढाक्छ । यसरी नै यदि बालबालिकाबाट अभिभावक, समाज र राज्यको ध्यान हट्छ र उनीहरुप्रति गैरजिम्मेवार व्यवहार गरिन्छ भने त्यसको प्रभावका रुपमा नसोचेका नकारात्मक परिणामहरु शनै शनै अस्तित्वमा आउन थाल्दछन् । बालबालिकाहरुको मनोविज्ञानमाथि दुष्प्रभाव पारेर अभिभावकको गैरजिम्मेवार स्वभावले अपराध प्रवृत्तिको विकास गरिदिन्छ । एक चित्रकारको चाहना हुन्छ उसले बनाएको चित्रलाई सबैले मन पराई दिउन्, समाजको सभ्यताको अङ्ग र संस्कृतिको रुपमा त्यसलाई अपनाइयोस्, त्यसरी नै एक अभिभावकका सन्तान रुपी चित्र पनि समाज, देश र विश्वको गहना बनोस्, राष्ट्रको समृद्धिको आधार बनोस् भन्ने अभिलाषा अभिभावको हुनु पर्दछ । यसको विपरीतका परिस्थितिहरु आजभोलि देखा परेका छन् । जन्मानएर अलपत्र पार्ने आमाबुवाको संख्या बढ्दो छ । आपसी मतभेदका कारण सृजित दम्पतिबीचको मनमुटावले बालबालिकाको भविष्य नै अन्धकारतिर धकेलिएको हामी देख्न सक्छौं ।
अभिभावकविहीन बालबालिकाहरु सडक बालबालिकाका रुपमा जीवन बिताउन बाध्य छन् । विद्यालय तहदेखि उच्च तहसम्मको शिक्षा हासिल गर्दा स्वदेशमै रोजगारीको सम्भावना नरहने भएपछि विदेशलाई नै उनीहरुले आफ्नो गन्तव्य ठान्न विवश छन् ।
युवामा परिणत भइसकेका बालबालिकाहरु राजनीतिक दलको झोला बोकेर फेद न टुप्पोको राजनीतिमा आफ्नो भविष्य खोज्दछन् । बालबालिकाहरुलाई वोट बैंक बनाएर आफ्नो दुनो नसोझाउने राजनीतिक दल प्रायः कुनै पनि छैन ।
राज्यको गैरजिम्मेवारीपन, समाजको अपहेलना र अभिभावकको लापरवाहीको संयुक्त प्रभावकै कारण हजारौं बालिबालिका दुर्व्यसनको शिकार बनेका छन् ।बालबालिकाहरु डिप्रेशनको शिकार बन्दैछन्, आत्महत्या समेत गर्ने बालबालिकाहरुको संख्या बढ्दो छ । बाल अधिकारकर्मीहरुको संख्या पहिलाको तुलनामा जति बढ्दै छ त्यति बालबालिकाहरुको अधिकार असुरक्षित बन्दै छ ।

विद्यालय जानुपर्ने उमेरमा अलपत्र पारिएका बालबालिकाहरु होटलमा बेतलबी रुपमा भाँडा माजेर दुई प्रहरको खाना पाइरहेका छन् । कतिपय हुनेखानेहरुले अभिभावकलाई पढाइदिने साथमा पैसा पनि दिने लोभ देखाउँदै उनका बालबच्चालाई घरेलु काममा लगाएका छन् । घरेलु काममा रहेका बालबालिकाहरुको श्रम मात्रै होइन यौन शोषण पनि हुने गर्दछ ।

आजका बालबालिका भोलिका युवा हुन् । युवा शक्ति देशको समृद्धिका आधार हुन् । तिनै युवाहरुलाई देशमै काम गरि खाने वातारण राज्यले नबनाए पछि उनीहरु विदेशिन बाध्य छन् । विदेशमा काम गर्दागर्दै ज्यान जान्छ, बाकसमा फकिन्छन् भने अधिकांशले उतैको पिआर लिएर बस्न थाल्छन् । देश युवा शक्तिको सिप र क्षमताको विश्वासले होइन रेमिट्यान्सले धानिएको छ । यस वर्षको भदौ २९ लाई बाल दिवसको रुपमा मनाउँदै गर्दा येतिबेला पनि कति बालबालिकाहरु श्रम गर्न बाध्य छन् । बाल हिंसा र बालबालिकाको शोषण रोकिएको छैन । उनीहरुको अवस्था झन् बिग्रदो छ । यद्यपि यस पालीको बाल दिवसको नारा राष्ट्रिय बाल अधिकार परिषदले ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ कायम गरि देशै भर बाल दिवस मनाउँदै छ ।
वास्तवमा हिजोको बाल दिवस र आजको बाल दिवस कुन अर्थमा फरक छ त्यसको आँकलन गर्न सकिने केही परिदृश्य पनि होलान् तर आजको मितिमा पनि कि त अनाथालयहरुको संख्या बढेका छन् कि अनाथालयभित्र अभिभावकविहीन बालबालिकाहरुको संख्यामा वृद्धि हुँदैछ ।

आज पनि अनाथालयमा बालबालिका माथि यौन शोषण हुँदै छ । कुनै माध्यमबाट यौन शोषणको कुरा बाहिर आयो भने अनाथालय सञ्चालकलाई प्रहरीले हिरासतमा राख्छ नत्र धेरै घटनाहरु लुकाइएका हुन्छन् ।
राज्यले निःशुल्क शिक्षाको व्यवस्था गर्न सक्दैन केवल घोषणा गर्दछ । बालबालिकाहरु सशुल्क पढ्न बाध्य छन् । मासिक शुल्क नबुझाउँदा उनीहरुको परीक्षाको नतिजा नै रोकिन्छ भने कतिपय विद्यालयले त शुल्न नतिरेका बालबालिकालाई विद्यालयको गेटबाटै घर फर्काइदिन्छ ।

अभिभावकसँग डाक्टरको फिस बुझाउन र औषधि किन्नलाई पैसा नहुँदा बालबालिकाहरुको बाल रोग विशेषज्ञबाट भरपर्दाे स्वास्थ्य उपचारको व्यवस्था छैन । अभिभावकको गरिबीका कारण पोषणयुक्त खानाको अभावमा बालबालिकाहरु कुपोषित भइरहेका हुन्छन् जसको पूर्ण रोकथामको उपाय आजसम्म गर्न सकिएको छैन ।

यस्ता यस्तै खाल्डाखुल्डीहरुका बीचबाट जसोतसो बाल विदस छिर्दै २०८० सम्म आइ पुगेको छ । २०८१, ०८२, ०८३ गरि अनेकौं आउने वर्षहरुसम्म पनि पुग्ला यो बाल दिवस तर बालबालिकाहरुको जीवनमा स्वदेशमै बसेर सिप र क्षमताको विकास गर्दै विदेश नगइ मातृभूमिकै समृद्धिका लागि सुरक्षित ढंगले योगदान गर्न पाउने दिन कहिले आउने होला ? कि पूर्ण बालमैत्री व्यवस्था, हाम्रो देशमा सम्भव नै छैन ?

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर