Sat2024 July 27
२०८१ साउन १२, शनिबार

हुने देशको सद्भाव–सभ्यता नहुने देशको ऊँचनीच र जातीयता

23

यस जगतको कुनै पनि वस्तु आफैमा न सम्पूर्ण छ न त शुद्ध नै । एक वस्तुको अस्तित्वका लागि अर्काे वस्तुको अस्तित्व परमावश्यक छ । सूक्ष्म कणहरु मिलेरै स्थूल पदार्थको निर्माण हुन्छ । अनुमानित ३७ हजार २०० खर्ब कोषहरुले मानव शरीर निर्मित छ । प्रत्येक कोष स्वस्थ र जीवित भएमा मात्र शरीर पनि स्वस्थ र जीवित भएको मानिन्छ ।

आँखाले म नै सबैभन्दा ठूलो भन्न मिल्दैन । किन कि ऊ आफै कोन सेल, रड सेल, लेन्स, रेटिना, कर्निया आदि मिलेर बनेको हुन्छ । यी मध्ये कुनै एकले काम गर्न छोडिदिए वा आँखाबाट ल्याइएका संवेदनालाई मस्तिष्कले साथ नदिए आँखाको सम्पूर्ण कार्य प्रभावित हुन्छ ।

म सबैभन्दा ठूलो हुँ, मस्तिष्कले पनि भन्न मिल्दैन । किनकि ऊ आफै ८ ओटा हाड मिली बनेको खप्परले सुरक्षित रहन्छ र पाचन तन्त्र तथा सञ्चार प्रणालीले साथ दिइरहेमा गतिशील भई कार्य गरिरहन्छ । जिब्रो, दाँत, आन्द्रा, कलेजो, पेट, अग्न्याशय तथा विभिन्न पाचन रसले आ–आफ्नो कार्य गर्दै एक अर्कलाई निरन्तर साथ दिन्छन् भने पाचन तन्त्रको मूल्य, मान्यता, कार्य क्षमता र महत्व अत्यधिक हुन्छ । खाएको खाना मध्ये नपचेको भाग १२ घण्टामा मल बन्छ ।

सामान्य व्यक्तिले बिहान साँझ गरी कम्तिमा २ पटक भोजन गरेर २४ घण्टामा एक पटक मलत्याग गर्दछ । यसको अर्थ हो अर्काे १२ घण्टाको मल शरीर भित्रै रहन्छ । त्यसै गरि मूत्र, पसिना, खकार, करोडौं सूक्ष्मजीवहरु तथा विषैला वस्तु शरीरभित्र उत्पादन भइरहेका हुन्छन् । यस तथ्यलाई आधारमा मानेर चल्ने हो भने मानव शरीर शुद्ध हुनै सक्दैन ।

आफूलाई पवित्र र श्रेष्ठ भन्दै अर्काे मानिसको प्रतिष्ठा तोड्ने, स्वाभिमानको मूल्य नदेख्ने र अस्तित्व मेटाउन खोज्ने व्यक्तिको शीलस्वभाव असल कसरी हुन सक्छ ? व्यक्ति महान् हुने सतज्ञान अनि सेवाभावद्वारा प्रेरित असल कर्मले हो, अभिमानद्वारा प्रेरित अमानवीय व्यवहार र मन दुखाउने दुष्कर्मले होइन ।

शरीरका अङ्गहरुबीचको सुमधुर सम्बन्ध जस्तै कुनै पनि देशमा यदि नागरिकहरुबीच सद्भाव सभ्यता रहन्छ भने यसले त्यस देशको समृद्धिलाई दीर्घकालीन बनाउँछ । सँधै मलमूत्र त्यागेर, आफैले मलभाग प्रक्षालन गरेर सँधै सभ्य र सफासुघ्घर बन्ने कोसिस हर व्यक्तिको रहन्छ । त्यसैगरी ऊँचनीच र जातीयताको प्रदूषणबाट स्वयंलाई मुक्त राख्दै राष्ट्रको मुहार चम्काउन प्रत्येक नेपालीको योगदान रहनु जरुरी छ । ऊँचनीच र जातीयताको व्यवहारमा अल्झिएर राष्ट्रको समृद्धि अनि अस्तित्वलाई कमजोर बनाउने अधिकार कसैलाई छैन । ‘‘हुने देशको सद्भाव सभ्यता, नहुने देशको ऊँचनीच र जातियता’’ यो उखान कसैले व्यवहारमा नउतारौं, यस पवित्र देवभूमि नेपालमा ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर