Sun2024 May 19
२०८१ जेठ ०६, आइतबार

३५ वर्ष माथिका पुरुष बीच तीन दिने भलिवल प्रतियोगिता शुरु

7

पोखरामा ३५ वर्ष माथिका पुरुष बीच दोस्रो राजपँधेरा भेट्रान्स कप भलिवल प्रतियोगिता  शुक्रबार (२६ असोज) देखि शुरु भएको छ । पोखरा–१६ बाटुलेचौरमा रहेको राजपँधेरा टोल विकास संस्थाको आयोजनामा स्थानीय बाटुलेचौर खेल मैदानमा भलिवल प्रतियोगिताको शुरु भएको हो ।

प्रतियोगिता सम्पन्न गर्न करिव ८ लाख खर्च लाग्ने र सो रकम विभिन्न संघ, संस्था तथा सहयोगीबाट   संकलन गरिने आर्थिक उपसमितिका संयोजक केशव थापाले बताए। कार्यक्रमलाई व्यवस्थित बनाउन संस्थाका अध्यक्ष मिन बहादुर गुरुङको संयोजकत्वमा ९३ सदस्यीय मूल समिति र  विभिन्न १२ वटा उपसमितिका साथै  सल्लाहकार समिति समेत गठन गरिएको छ ।

बडादशैंको अवसरमा आयोजित प्रतियोगिताको उद्घाटन गर्दै पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सीनाले मानविय जीवनलाई स्वस्थ र फुर्तिलो वनाउन खेल आवस्यक रहेको बताए । उनले टोल विकास संस्थाहरुले विकास निर्माण र सामाजिक कार्यका अलावा मानव स्वास्थ्यका क्षेत्रमा पनि ध्यान दिनुपर्ने बताउँदै, संस्थाले गरेको कार्य उत्कृष्ट रहेको भन्दै प्रशंसा गरे । संस्थाका अध्यक्ष एवं कार्यक्रम संयोजक मिन वहादुर  गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा– २० का वडाध्यक्ष गंगाबहादुर खत्री क्षेत्री, पोखरा– १६ का पूर्व वडाध्यक्ष जीवन आचार्य, गरिमा विकास बैंक वाटुलेचौर शाखाका प्रमुख कमल सुवेदी लगायतकाले राजपधेरा टोल विकास संस्थाले गरेका कार्यको अरु संस्थाले पनि सिको गर्नुपर्ने औल्याए । उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष हरिश्चन्द्र वस्नेत र संचालन आशिष गुरुङले गरेका थिए ।

तीन दिनसम्म संचालन हुने प्रतियोगितामा पोखराका १, १६, १९ र २० नम्वर वडाका ३५ वर्ष माथिका पुरुष सहभागी १० टिमले सहभागिता जनाएको भलिवल प्रतियोगिता उपसमितिका संयोजक विशाल खड्काले जानकारी दिए । लिग राउण्डका आधारमा हुने खेलमा भलाम १, भलाम २, ठाँटी, मैदान,नमुना क्लव, चनौटे १,लामाचौर, अम्विका टोल, आयोजक राजपँधेरा र अर्मलाकोट गरी १० वटा भेट्रान्स टिमको सहभागिता रहेको छ ।

“स्वास्थ्यका लागि खेलकुद” भन्ने अभियानका साथ आयोजना गरिएको कार्यक्रममा आईतवार अन्तिम दिन  भलिवलको फाइनल सहित रस्साकस्सी प्रतियोगिता, घैंटो फुटाउने, ठेलो हान्ने लगायतका सांस्कृतिक कार्यक्रम संचालन हुने बताईएको छ ।  प्रतियोगितामा विजेतालाई च्यांङ्ग्रा, मेडल र ट्रफी तथा उपविजेतालाई भेडा, मेडल र ट्रफी प्रदान गरिने छ भने विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने जानकारी प्राप्त भएको छ ।

 

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर