काठमाडौँ । सरकारले बाढीपहिरोमा परी ज्यान गुमाएकाको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले कार्यविधिअनुसार उक्त राहत रकम दिने निर्णय गरेको हो ।
त्यस्तै, सरकारले राष्ट्रिय शोकको घोषणा गर्दै ३ दिन राष्ट्रिय झन्डा झुकाउने निर्णयसमेत गरेको छ । अमेरिका भ्रमणबाट फर्किएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेका थिए ।
साथै, प्रधानमन्त्री ओलीले आज (मंगलबार) अपराह्न ४ बजे विशेष पत्रकार सम्मेलन गरेर राहतका अन्य प्याकेजसमेत घोषणा गर्ने भएका छन् । बैठकले राहत कोषमा १ अर्ब रकम अर्थ मन्त्रालयबाट उपलब्ध गराउने निर्णय गरेको छ भने त्यसबाहेक प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा प्रधानमन्त्री र मन्त्रीहरूले १ महिनाको तलब जम्मा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
त्यस्तै, बाढीपहिरोका कारण घाइते भएकाहरूलाई निःशुल्क उपचार र उपचारमा कुनै कमी हुन नदिने निर्णय गर्दै बैठकले राहत र उद्धारका लागि सरकारले प्रदेश र स्थानीय तहसँग समन्वय गर्ने निर्णय गरको छ ।
यसका साथै सडक, खानेपानी, दूरसञ्चार, विद्युतलगायतका संरचनामा पुगेको क्षतिबारे सम्बन्धित मन्त्रालयले प्रतिवेदन बुझाउने तथा प्रभावित जिल्लामा अनुगमन टोली गठन गरेर खटाउन गृह मन्त्रालयलाई निर्देशनसमेत दिइएको छ ।