Sat2024 July 27
२०८१ साउन १२, शनिबार

कालिगण्डकी करिडोर हर्मिचौर अर्बेनी सडकखण्ड दैनिक ११ घण्टा अवरुद्ध हुने

17

लोकनाथ शर्मा लुइटेल, भदौ ६ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागको कालिगण्डकी कोरिडोर (गैंडाकोट–राम्दी–मालढुङ्गा) सडक योजना अन्तर्गत हर्मिचौदेखि अर्बेनीसम्मको सडक निर्माण कार्य सवारी साधन आवागमन बन्द गरेरै अघि बढाउन सडक विभागले जैमिनी नगरपालिका–८ बाग्लुङको श्री कालिका कन्स्ट्रक्सन प्रा.लि.लाई निर्देशन दिएको छ ।

सडक विभागले आवागमन बन्द हुने समय तालिका समेत तोकेर कन्स्ट्रक्सन प्रा.लि.लाई पत्र–मार्फत उक्त निर्देशन दिएको हो ।

उक्त समय तालिका भदौ ६ गतेदेखि आगामी २५ दिनसम्म कार्यान्वयनमा ल्याइने भएको छ । उल्लेखित अवधिमा सडक निर्माण कार्यको प्रगतिको आधारमा सवारी साधन आवागमन बन्द गर्ने सम्बन्धमा समय पुनरावलोकन गर्न सकिने पनि बताइएको छ ।
समय तालिका अनुसार कालिगण्डकी करिडोर सडकको हर्मिचौरदेखि अर्बेनीसम्मको सडकखण्डमा सवारी साधन आवागमन अवरुद्ध हुने भएको छ । बिहान ८ः०० बजेदेखि ११ः०० बजेसम्म, दिउँसो १ः०० बजेदेखि ५ः०० बजेसम्म, साँझ ६ः०० बजेदेखि राति १०ः०० बजेसम्म कुनै पनि सवारी साधन चल्न पाउने छैनन् । तालिकामा तोकिएको समय बाहेक अन्य समयमा सवारी साधनको आवागमनमा असुविधा नपर्नेगरी सडक निर्माण कार्य अगाडि बढ्ने छ ।

निर्माण योजनाको तालिका अनुसार गुल्मी र बाग्लुङ्गका विभिन्न स्थानमा आवतजावत प्रभावित हुने भएकाले बुटवलदेखि कालिगण्डकी करिडोर हुँदै गुल्मी र बाग्लुङ्गसम्मको यात्राका दौरान सुरक्षाको विशेष ध्यान पुर्याउन सडक निर्माण योजना शाखाले विज्ञप्ति नै निकालेर अनुरोध गरेको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर