Sat2024 July 27
२०८१ साउन १२, शनिबार

दुबईमा बसेर नेपालमा मानव तस्करी, यता देखाउन ‘भिजिट भिसा’, उता पुगेपछि ‘वर्किङ भिसा’

16
 श्यामसुन्दर पुडासैनी

काठमाडौं। पर्वत डाँडाखर्कका विजय सुनारले संयुक्त अरब इमिरेट्स (यूएई)मा बसेर नेपालमा बसेका युवाहरूलाई ठगी गरिरहेको खुलेको छ। उनले दुबईमा कम्पनी दर्ता गरेर सोहीमार्फत रोजगारीका लागि डिमान्ड आएको भन्दै लाखौँ रुपैयाँ असुल्ने गरेको पाइएको छ।

नेपालमा रहेका युवाहरूबाट लाखौँ उठाउने र कम्पनी नै बन्द गरेर भाग्ने गिरोह यति बेला दुबईमा सक्रिय रहँदा विजय सुनारले पनि नेपालबाट पैसा असुल्ने र कतिपयलाई दुबई लगेर अलपत्र पार्ने गरेको प्रमाण नेपालभ्युजले फेला पारेको छ।

दुबईमा ‘सिल्भरलाइन फ्यालिसिटी म्यानेजमेन्ट सर्भिसेज’ कम्पनी खोलेका विजय सुनार र उनको एजेन्टमार्फत ठगिएका तीन दर्जन बढी पीडितहरू नेपालभ्युजको सम्पर्कमा छन्। यसअघि, उनीबाट दुबईमा बेचिएको र उद्धारपछि स्वदेश फर्किएको बताउने एक महिलाको समाचार प्रकाशनपछि पीडितहरू नेपालभ्युजको सम्पर्कमा आउने क्रम जारी छ।

पीडितहरूमा विदेश जाने भन्दै पैसा बुझाएर नलगिएका र कतिपय दुबई पुगेर अलपत्र पारिएका छन्। कतिपय दुबई गए पनि काम गरेको पारिश्रमिक नपाएपछि बिना पैसा फर्किएका छन्। अझै केही पीडित दुबईमै छन्।

उनीहरूलाई भिजिट र कामदार भिसा दुवै दिएर लगिएको छ। बिनाश्रम स्वीकृति दुबई लगिएका उनीहरू बिचल्ली पर्ने गरेका छन्। सरकारले भिजिट भिसामा भन्दै काम गर्न खाडी मुलुक जान रोक लगाएको छ।

तर, विजय सुनारलगायत मानव तस्करको समूहले सेटिङमा नेपाली युवालाई दुबई लगेर अलपत्र पारिरहेका छन्। यसको लागि विजयले दुईवटा भिसा पठाउँछन्।

केही समयअघि इन्दिरा परियार, प्रेम लामा, दीपक गिरी, सविन परियार, प्रकाश देवकोटा, सुदिश नेपाल, अब्दुल अलि महमदलाई विजय सुनारले आफ्नो कम्पनी ‘सिल्भरलाइन फ्यालिसिटी म्यानेजमेन्ट सर्भिसेज’बाट कामदार भिसा पठाएका थिए। तर, उनीहरूलाई अर्काे ट्राभल्स एजेन्सी प्रयोग गरेर टुरिजम भिसाबाट दुबई लगिएको थियो।

विजय सुनारको गिरोहले आफूहरूलाई विमानस्थल अध्यागमन, प्रहरी र एयरलाइन्सका कर्मचारीलाई देखाउन टुरिजम भिसा दिने गरेको ठगीमा परेका युवाहरू बताउँछन्। दुबई पुगिसकेपछि देखाउन कामदार भिसा दिने गरेको उनीहरूको भनाइ छ।

यतिसम्म कि, उनले कतिपयलाई नक्कली श्रम स्वीकृतिका कागजातसमेत पठाउने गरेको दुबई पुगेर फर्किएका पीडित राजेश पुरी बताउँछन्।

उनी भन्छन्, ‘‘मलगायत दर्जनौंलाई दोहोरो भिसा दिएर लग्यो। भिजिट भिसामा यसबाट जाने र उता पुगेपछि इमिग्रेसनमा कामदार भिसा देखाउन भनियो। यसरी विजय सुनारको समूहले पीडितसँग लाखौँ रुपैयाँ लिएर दुबई अवैधरूपमा लग्ने र त्यहाँ लगेर अलपत्र पार्दै आएको छ।’’

सरकारले श्रम स्वीकृतिबिना गएका नेपाली कामदारलाई उद्धार गर्न कठिनाइ हुने भन्दै श्रम स्वीकृतिबिना यूएईलगायत कतै पनि देश नजान कामदारलाई अपिल गरिरहेको छ। त्यसरी जान अवैध हुन्छ। तर, विजय सुनार र उनको गिरोहले वैदेशिक रोजगार विभागको श्रम स्वीकृति नलिइकनै यूएई लगिरहेको पीडितहरूको गुनासो छ।

एकै जनालाई दिइएको भिजिट भिसा र कामदार भिसा

पीडित इन्दिरा परियार भन्छिन्,‘‘सरकारले व्यक्तिगत वा म्यानपावर एजेन्सीमार्फत जुनसुकै किसिमले रोजगारीको लागि नेपालीहरू यूएई आउँदा अनिवार्य रूपमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर आउन कामदारलाई सबैमा अनुरोध गरिरहेको छ।

तर, हामीलाई भिजिट भिसा र कामदार भिसा दिइयो। कामदार भिसामा श्रम स्वीकृति गराइएन। त्यहाँ काम गरेको ठाउँमा पैसा पनि दिएन। हामीले कानुनी लडाइँ लड्न पनि पाएनौँ। हामी एक वर्ष काम गरेर बिना तलब फर्कनुपर्‍यो।’’

विजय सुनारको गिरोह नै सक्रिय

विजय सुनारको कम्पनीका लागि कामदार लैजाने भन्दै नेपालका एक गिरोह सक्रिय छ जो सयौँ युवालाई वैदेशिक रोजगारीको सपना देखाएर ठगी धन्दा चलाउँदै आएका छन्। उनले नेपाली युवालाई ठगीको जालमा पार्न समूह नै तयार पारेका छन्।

जसमा झापा घर भएका अनुप थापा मुख्य सहयोगी हुन्। उनले नेपालमा ठगी गरेको रकम हुण्डीमार्फत दुबई झिकाउने गरेको समेत पीडितहरूको आरोप छ।

विजय सुनारले आफ्नै कम्पनीबाट अफर लेटर पठाउने र नेपालबाट राम्रो काम, तलबको प्रलोभन देखाएर ठगी धन्दा चलाउँदै आएका छन्। उनले प्रमिला मैनाली, कविता सुनार धमेल, तुलसीप्रसाद रिजालमार्फत लाखौँ रकम असुलेको प्रमाण भेटिएको छ।

साथै सहयोगी कर्णबहादुर सुनारमार्फत दुई दर्जन बढी नेपाली युवासँग विजय सुनारले पैसा लिएको प्रमाण नेपालभ्युजले भेटेको छ।

उनीहरू रोल्पादेखि काठमाडौंसम्मका हुन्। उनीहरूले प्रतिव्यक्ति २ लाख १० हजारदेखि ३ लाख रुपैयाँका दरले पैसा असुलिइरहेको छ। कतिपयलाई सुपरभाइजर बनाइदिने भन्दै एक जनाबाट ५ लाख लिने गरेका छन्।

मानव तस्करी र ठगी धन्दा चलाइरहेका आरोप लागेका विजय सुनार

पैसा माग्दा गुन्डा लगाएर कुटपिट

उनले युवाहरूलाई ठगी गर्न सिल्भरलाइन फ्यासिलिटी म्यानेजमेन्ट सर्भिस नामक कम्पनी खोलेका थिए । उनको त्यो संस्था बन्द भइसकेको छ। कामदारले पैसा माग्दा ब्ल्याङ्क चेक दिएपछि उजुरी गरेका थिए। त्यसपछि विजय सुनारको कम्पनी बन्द भएको छ।

१२ वर्षदेखि दुबई बस्दै आएका सुनारले सयौँ युवालाई ठगी गरेका मात्र छैनन्, उनको बदमासीको पोल खोल्छु भन्ने पीडितलाई धाकधम्की दिएर अत्याचार गरिरहेका छन्।

कानुनी लडाइँमा जान लागेका केही पीडित युवालाई उनले गुन्डा लगाएर कुटेको भिडिओ नेपालभ्युजले प्रसारण गरिसकेको छ। दुबई लगिएको तर भनिएजस्तो काम नदिएको र पैसा दिँदै नदिएपछि पीडितहरू पैसा माग्न विजयकहाँ गएका थिए।

पीडितले काम गरेको पैसा माग्दा गुन्डा लगाएर कुटपिट गराउँदै

विजयले कामदार आपूर्ति गर्ने कम्पनी खोलेका थिए। काम गरेको कम्पनीबाट सीधै विजय आफैँले पैसा लिन्थे। कामदारलाई दिँदैनथे । कामदारले आफ्नो ज्याला माग्दा उनले गुन्डा लगाएर कुटाउँथे।

पासपोर्ट खोसेर यातना

विजय सुनारको गिरोहले दुबई लगेका केही युवा अझै दुबईमा अलपत्र छन्। १३ महिनाअघि उता गएका २ जनालाई उनीहरूको समूहले पासपोर्ट खोसेर अलपत्र पारेको हो। दुबईबाट नेपालभ्युजको सम्पर्कमा आएका विकास तामाङ र रञ्जित तामाङ आफूहरूको पासपोर्ट खोसिएको बताउँछन्।

उनीहरूको पञ्जाबाट भागेर केही दिनअघि दीपक गिरी स्वदेश आउन सफल भएका थिए। त्यसअघि, दुई युवतीसहित सात जनाको उद्धार भएको छ।

तीन महिनादेखि दुबईमा अलपत्र परेका विकास तामाङले आफू तलबविहीन भएर बस्नुपरेको र विजय सुनार बेपत्ता भएको बताउँछन्। ‘‘कैयौँ युवाहरूलाई दुबईमा अलपत्र पारिएर राखिएको छ। हाम्रो पासपोर्ट पनि छैन। साढे २ लाख रुपैयाँ तिरेर आयौँ। न काम गरेको तलब दिएको छ। विजय सुनार बेपत्ता छन्, उनका मान्छेले हाम्रो पासपोर्ट खोसेर राखेको छ।’’

दुबई रहेका अर्का पीडित रञ्जित तामाङले आफू पनि दुई महिनादेखि दुबईमा अलपत्र अवस्थामा रहेको बताए। उनलाई पनि विजय सुनारले नै नै दुबई पुर्‍याएका थिए। आफूलाई न्याय दिलाइदिन र उद्धार गरिदिन अनुनय गर्दै उनी भन्छन्, ‘‘चार महिनादेखि दुबईमा अलपत्र छु। तीन लाख रुपैयाँ तिरेर आएँ। अहिलेसम्म कमाएको एक सुको पैसा दिएन। घर जान्छु भन्दा पासर्पाेट खोसेर राखेको छ।’’

उनीबाट पीडित भएका राजेश पुरी महिना दिनअघि स्वदेश आएका छन्। विजय सुनारले आफ्नो १२ लाख रुपैयाँ ठगी गरेको उनको आरोप छ। ‘‘मलाई नक्कली भिसा दिएर प्रहरीसमेत लगाएर दु:ख दिइयो। अहिले नेपाल आएको छु,’’ उनले भने।

पछिल्लो समय दुबईमा एउटा कम्पनी दर्ता गर्ने र सोही कम्पनीमार्फत रोजगारीका लागि डिमान्ड आएको छ भन्दै नेपालमा रहेका युवाहरूलाई लाखौँ उठाउने र कम्पनी नै बन्द गरेर भाग्नेहरू यति बेला दुबईमा सयौँ भेटिन्छन्।

दुबईमा कम्पनी खोलेर सयौं युवाबाट करोडौं ठगी गर्ने कोमलराज उपाध्याय र पत्नी रञ्जना ढकाल प्याकुरेल पनि जेलमै छिन्।

with thanks from nepalviews.com

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर