Sat2024 July 27
२०८१ साउन १२, शनिबार

वतनै विलिने हो कि लाग्छ ठूलो डर

20
नेपाल मेरो देश, नेपालमै मेरो घर
हेर्छन् मानिस यहाँ जाति अनि थर
नेता असल छैनन् कसको पर्नु भर
वतनै विलिने हो कि लाग्छ ठूलो डर
वसुधैव कुटुम्बकम लेखिदिए लेख्नेले
जातिप्रथा लागु गरे सत्य नदेख्नेले
सीमा सारा पार गरे मानवता मेट्नेले
विकृति ल्याए धर्मको उपदेश छांट्नेले
वेद पुराण उपनिषदको छैन केही असर
वतनै विलिने हो कि लाग्छ ठूलो डर…….
छलकपट झुट यहाँ छ सबैको बानी बन्दै
घुम्छन् अज्ञानीहरु आफूलाई ज्ञानी भन्दै
स्वार्थसिद्धिलाई मानिसले बनायो धन्दै
आफ्नै बर्बादीको खाल्डो मान्छेले छ खन्दै
हर एकको गुज्रदै छ अन्यौलता मै सफर
वतनै विलिने हो कि लाग्छ ठूलो डर……..
देखाउँछन् भ्रष्टाचारको कार्यमा निर्भिकता
वंश अनि गुटबन्दीले पाउँछ प्राथमिकता
नेपाली जनतामा पनि रहेन दूरदर्शिता
हावी भयो झनै देश बेच्ने मानसिकता
बेचे लिपुलेक कालापानी हाम्लाई नदिइ खबर
वतनै विलिने हो कि लाग्छ ठूलो डर ……..
राजनीतिले गुमाइरहेको छ आफ्नो सन्तुलन
बढ्दै छ नि साम्राज्यवादीहरुको आक्रमण
देश कसरी जोगाउने गुम्यो नेपाली चिन्तन
कहिलै भएन देशमा असल नेताको चयन
दुरुपयोग भइरहेको छ जनताको कर
वतनै विलिने हो कि लाग्छ ठूलो डर …….
भजन गाउँछन् व्रत बस्छन् खुबै सभ्य बनेर
मानिसलाई होच्याउँछन् तल्लो जाति भनेर
आत्माकै सम्मान छैन के अर्थ माला जपेर
कस्तो चेतना बाँच्दैछन् आफैलाई ढांटेर
यो पूजापाठ कीर्तन त हो रहेछ आडम्बर
वतनै विलिने हो कि लाग्छ ठूलो डर ……..

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर