मुख्यमन्त्री सिंहको निर्देशन– अवैध अस्पताल बन्द गर्नु

जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामको पिराडीचोकमा अवैध रूपमा सञ्चालनमा रहेको मुस्कान अस्पताललाई तत्काल बन्द गर्न निर्देशन दिएका छन्। अस्पतालले वैध अनुमति नलिएर सञ्चालन गरेको र बिरामीको उपचारमा गम्भीर लापरवाही भएको खबर सार्वजनिक भएपछि शुक्रबार राति मुख्यमन्त्री सिंह स्वयं अस्पताल अनुगमनमा पुगेका थिए।

अनुगमनका क्रममा अस्पताल सञ्चालनका लागि सम्बन्धित निकायबाट अनुमति लिएको कुनै प्रमाण फेला नपरेपछि मुख्यमन्त्री सिंहले अस्पताल सञ्चालकलाई उपचाररत बिरामीलाई विस्तृत विवरणसहित अन्य अस्पतालमा स्थानान्तरण गर्न र शनिबार बिहान ११ बजेसम्म अस्पताल बन्द गरेर साँचो सरकारलाई बुझाउन आदेश दिएका छन्। मुस्कान अस्पतालमा हाल तीनजना बिरामी भर्ना भएर उपचाररत छन्।

अस्पतालमा पित्तथैलीको शल्यक्रियापछि सर्लाहीकी २५ वर्षीया बबिताकुमारी यादव बेहोस अवस्थामा जानकी हेल्थकेयर अस्पतालमा उपचाररत रहेको समाचार आएपछि मुख्यमन्त्री सिंहको ध्यानाकर्षण भएको थियो।

शुक्रबार साँझ पहिलोपटक अनुगमन गर्दा अस्पताल सञ्चालकसँग भेट नहुँदा मुख्यमन्त्री सिंह फर्किएका थिए। तर दोस्रो पटक राति १०:३० बजे पुनः अनुगमन गर्दा अस्पतालमा एकजना स्टाफ नर्स र एकजना सिएमए मात्र रहेको पाइएको थियो। उनले अस्पताल सञ्चालकसँग आवश्यक मापदण्ड, चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्था, र भौतिक संरचनाबारे जानकारी लिँदै आवश्यक कागजातको जाँच गरेका थिए।

स्वीकृति नलिई सञ्चालनमा रहेको र जनशक्ति व्यवस्थापन तथा भौतिक संरचना अनुपयुक्त रहेको देखिएपछि मुख्यमन्त्री सिंहले गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले चेतावनी दिंदै भने, “यदि अस्पताल सञ्चालकले आफ्ना रूपमा अस्पताल बन्द नगरेमा सरकारले आफ्नै टोली पठाएर कारबाही गर्नेछ।”

मधेश प्रदेश सरकारले निजी अस्पतालहरूलाई सम्बन्धित निकायबाट स्वीकृति लिई मापदण्ड पुरा गर्न पटकपटक ताकेता गर्दै आए पनि कतिपय सञ्चालकहरू अटेर गर्दै आएका छन्। मुख्यमन्त्री सिंहले यस प्रकारका लापरवाह अस्पतालहरूमाथि कडा निगरानी र कारबाही प्रक्रिया अघि बढाइने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

छुट्यो कि ?

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.