लोकसारथि, माघ २९ । भारतले चन्द्रयान–३ को सफल अवतरणसँगै अन्तरिक्ष अनुसन्धानमा नयाँ इतिहास रचेको छ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का वैज्ञानिकहरूले चन्द्रयान–३ ले अवतरण गरेको स्थलको विश्लेषण गर्दै चन्द्रमाको उमेर ३.७ अर्ब वर्ष रहेको खुलासा गरेका छन्।
अहमदाबादस्थित इसरोको भौतिक अनुसन्धान प्रयोगशालाका वैज्ञानिकहरूको टोलीले चन्द्रयान–३ अवतरण स्थललाई पत्ता लगाई ‘शिव शक्ति बिन्दु’ नामाकरण गरेको छ। यस क्षेत्रमा गरिएको रूपात्मक र टोपोग्राफिक विश्लेषणले चन्द्रमाको विकास प्रक्रियाबारे महत्त्वपूर्ण तथ्यहरू उजागर गरेको छ।
भारतले २०२३ अगस्ट २३ मा चन्द्रमाको दक्षिणी ध्रुवमा सफ्ट ल्याण्डिङ गर्ने विश्वको पहिलो देशको रूपमा इतिहास रचेको हो। चन्द्रयान–३ मा रहेको विक्रम ल्यान्डर भित्रको प्रज्ञान रोभरले पठाएको डाटाका आधारमा वैज्ञानिकहरूले चन्द्रमाको सतह र संरचनाबारे नयाँ जानकारीहरू प्राप्त गरिरहेका छन्।
वैज्ञानिकहरूले लुनार रिकनसेन्स अर्बिटर (एलआरओ) को वाइड एंगल क्यामेरा र टेरेन क्यामेराजस्ता अत्याधुनिक इमेजिङ प्रविधिहरू प्रयोग गरी शिव शक्ति बिन्दु नजिकको क्रेटर र चट्टानहरूको अध्ययन गरेका छन्। ५०० देखि ११५० मिटर व्यास भएका ५० क्रेटरहरूको विश्लेषण गरेर उक्त क्षेत्रमा चन्द्रमाको उमेर ३.७ अर्ब वर्ष रहेको मापन गरिएको हो। नजिकैको असहज भूभाग र चिल्लो मैदानमा गरिएको २३ र ५ क्रेटरहरूको अध्ययनले पनि सोही निष्कर्षलाई पुष्टि गरेको इसरोले जनाएको छ।
वैज्ञानिकहरूको भनाइमा, माइक्रो-मेटियोराइट बमबारी र थर्मल उतारचढावका कारण चन्द्रमाको सतह निरन्तर परिवर्तन भइरहन्छ। लाखौं वर्षको समयावधिमा यी चट्टानहरू भत्केर रेगोलिथ (माटो-जस्तो चन्द्र सतह) मा परिणत भएका छन्। तर, यस क्षेत्रमा ‘स्पेस वेदरिङ’ को प्रभाव अपेक्षितभन्दा कम देखिएको छ, जसले क्रेटरहरू अपेक्षाकृत जवान हुन सक्ने संकेत गर्छ।
अध्ययनमा उल्लेख भएअनुसार, ९.१ प्रतिशत (५७६४ मध्ये ५६५) चट्टानहरू ५ मिटरभन्दा लामो पाइएको छ, जसमा ४२८ वटा चट्टानहरू ताजा क्रेटरको नजिक फेला परेका छन्। साथै, अवतरण क्षेत्रका दुई ठूला चट्टानहरू १७ मिटरभन्दा लामो रहेका पनि पाइएको छ।
चन्द्रयान–३ को सफल अवतरण र यसले दिएको वैज्ञानिक डाटाले चन्द्रमाको उत्पत्ति र विकासबारे थप गहिरो अध्ययन गर्न महत्त्वपूर्ण योगदान पुर्याउने इसरोका वैज्ञानिकहरूको विश्वास छ।