नेपाल सुपर लिगको तेस्रो संस्करण चैतमा, खेलकुदमन्त्री अझै अनभिज्ञ

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण आउँदो चैतमा हुने भएको छ । फागुन १० गते अक्सन हुँदैछ, जसका लागि सहभागी टोलीहरूले मार्की खेलाडी तथा रिटेन खेलाडी छनोट गरिरहेका छन् । नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम) को आयोजनामा एनएसएल चैत १६ गतेदेखि सुरु हुने तय भएको छ ।

तर, खेलकुदमन्त्री तेजुलाल चौधरी भने हालसम्म पनि फुटबलमा फ्रेन्चाइज लिग भइसकेको विषयमा अनभिज्ञ देखिएका छन् । उनले हालै एक कार्यक्रममा ‘फुटबलले पनि अब फ्रेन्चाइज लिग गर्ने बेला भएको’ अभिव्यक्ति दिएका थिए । यो भनाइले उनको फुटबलसम्बन्धी जानकारी अभाव देखाएको स्पष्ट हुन्छ ।

मन्त्रीको त्रुटिपूर्ण अभिव्यक्ति गत पुस ९ गते नेपाल भलिबल संघको कार्यक्रममा मन्त्री चौधरीले फुटबलमा फ्रेन्चाइज लिग नभएको भन्दै ‘अब फुटबलमा फ्रेन्चाइज लिग सुरु गर्नुपर्छ’ भनेका थिए । उक्त अभिव्यक्ति सुधार्नुको सट्टा उनले पछिल्लो एक टेलिभिजन अन्तर्वार्तामा पनि गल्ती दोहोर्‍याएका छन् । मन्त्री चौधरीले एनएसएलको प्रसंगलाई नै बेवास्ता गर्दै ‘फुटबलका लागि एन्फासँग कुरा अगाडि बढाएको’ बताएका छन् । उनले एनएसएललाई छोटकरीमा ‘एनसेल’ भन्दै गलत अभिव्यक्ति दिएका थिए ।

एनएसएल र मन्त्रीको बुझाइ नेपाल सुपर लिग (एनएसएल) पनि नेपाल प्रिमियर लिग (एनपीएल) जस्तै फ्रेन्चाइज लिग नै हो । यसपटक एनएसएलको तेस्रो संस्करण हुन लागेको छ, जसमा ७ टोलीले सहभागिता जनाएका छन् । ती टोलीले एक-एक जना मार्की खेलाडी तोक्ने र चाहेका खेलाडीलाई रिटेन गर्ने व्यवस्था गरिएको छ । बाँकी खेलाडीहरू फागुन १० गते अक्सनमार्फत टिममा समावेश हुनेछन् ।

एन्फाको प्रतिक्रिया अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले फुटबलमा फ्रेन्चाइज लिग अरु खेलभन्दा पहिले नै सुरु भएको स्पष्ट पारे । ‘मन्त्रीज्यू अपडेट नहुनुभएको हो कि सल्लाह दिनेले गलत बुझाएका हुन्, तर अन्य खेलभन्दा पहिल्यै फुटबलमा फ्रेन्चाइज लिग सुरु भएको हो,’ उनले भने ।

राजनीतिक भागबन्डाको असर खेलकुदमन्त्री चौधरीको खेलकुदसँग कुनै विशेष पृष्ठभूमि छैन । उनलाई राजनीतिक भागबण्डाको क्रममा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको हो । यसअघि खेलकुद मन्त्रालयमा रहेका विराजभक्त श्रेष्ठको कार्यकालमा खेल क्षेत्रमा सकारात्मक प्रभाव परेको थियो, तर उनी छोटो समयमै पदमुक्त भए । चौधरीको कार्यकालमा भने विभिन्न त्रुटिपूर्ण निर्णय र अभिव्यक्तिहरूले विवाद निम्त्याइरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

छुट्यो कि ?

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.