सम्झना जीवनसाथीको (गीत, भाग–११)

सम्झना जीवनसाथीको (गीत, भाग–११)

हाँसी खुशी बसिन्छ सँगै बाँचुन्जेल लाग्थ्यो मलाई
भाग्यले दिएन हाल्यो तगारो झुटो भयो मेरो बुझाइ
सहन सकेँ होला खै कसरी जीवनसाथीको जुदाइ
को छ र आफ्नो भन्ने अरु, यो संसार त रहेछ पराइ

जन्मिँदा एक्लो मर्दा एक्लो साथ कोही पनि हुन्न
जाने मान्छेलाई सम्झेर यहाँ जीवनभरि कोही रुन्न
तैयार हुन्छन् स्वार्थमा सबै सम्बन्धको माला उन्न
पालो सबैको आउँछ एकदिन नसोच मृत्युले छुन्न
जाने गए बाँच्ने नि जान्छन् दुईचार दिनको ढिलाइ
को छ र आफ्नो भन्ने अरु, यो संसार त रहेछ पराइ

कोसित भेट्ने कोबाट छुट्ने नियन्ताकै हो यो चाहना
थपघट हुँदैन एकदुई पल अब चल्दैन कुनै बहाना
आमाको कोखैदेखि मृत्युले साधिरहेको छ निसाना
यात्रा गर्नु छ अन्देखा बाटोमा परिवर्तन हुन्छ ठेगाना
घरै फर्किन्छन् मलामी सबै दिएर घाटमा बिदाइ
को छ र आफ्नो भन्ने अरु, यो संसार त रहेछ पराइ

याद आउँछ तिम्रै छैन मसँग अरु केही पनि कुरा
हामी दुबैको मनका चाहना सबै रहि गए अधुरा
मुटुमै हाम्रो निष्ठुरी कालले चलाइदियो छुरा
हाम्रा पनि थिए रहरहरु यो जुनिमा भएन पूरा
अघाउँदैन खाएर यो जीवन, काल छ बसेको भोकाई
को छ र आफ्नो भन्ने अरु, यो संसार त रहेछ पराइ

बोलाउँदा पनि सुन्दैनसुन्ने कहाँ छौ खै आजकल
क्षितिजसम्म हेर्छु भेटिन्नौ लाग्या त छैन कतै बादल
कुन रुप छ, कस्ती भयौ सोचिरहन्छु यही हरपल
तिम्रो हिफाजत गर्नलाई हुन सकिनँ नि म सफल
आजभोलि सबैले भन्छन् गर्नुपर्छ कोशिश भुल्नलाई
को छ र आफ्नो भन्ने अरु, यो संसार त रहेछ पराइ

‘राधाचाकर’ राजू , 2081-10-27

प्रतिक्रिया दिनुहोस्

छुट्यो कि ?

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.