काठमाडौँ, १९ फागुन : प्रि-मनसुनका दिनहरु सुरु भएकाले देशभरको तापक्रम बढ्न थालेको छ । आज भैरहवाको अधिकतम तापक्रम ३४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सो कुराको जानकारी दिएको हो ।
यस्तै विराटनगर र जनकपुरको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ । महाशाखाका अनुसार आज सबैभन्दा कम तापक्रम जुम्लामा माइनस २ डिग्री सेल्सियससम्म रहने जनाइएको छ । यस्तै काठमाडौँको तापक्रम २५ डिग्री सेल्सियससम्म पुग्ने छ ।
अङ्ग्रेजी महिनाको मार्चदेखि सुरु हुने प्रि-मनसुन मे महिनासम्म रहन्छ । प्रि-मनसुन भन्नाले वर्षायाम सुरु हुनुभन्दा अघिको समय हो । यो तीन महिने प्रि–मनसुनमा देशभरको तापक्रम बढ्ने, हावाहुरी चल्ने, मोघ गर्जन र चट्याङसहित वर्षा हुने वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।