लोकसारथि, २० फागुन – गुल्मीको रिडी–तम्घास सडकखण्डको स्तरोन्नति तीव्र गतिमा अगाडि बढिरहेको छ। ट्र्याक खुलेको ४३ वर्षपछि सडकको स्तरोन्नति कार्य भइरहेको हो। हाल २५ किलोमिटर क्षेत्रमा स्तरोन्नतिको काम जारी रहेको मदन भण्डारी योजना कार्यालयले जनाएको छ।
फागुन दोस्रो सातासम्म ५५ प्रतिशत भौतिक र ४५ प्रतिशत वित्तीय प्रगति भएको योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर हुमानाथ पौडेलले जानकारी दिनुभयो। चालु आर्थिक वर्षमा आठ किलोमिटर कालोपत्रे र तीन किलोमिटर ढलानको काम सम्पन्न गर्ने लक्ष्यसहित कार्य भइरहेको छ।
यस अवधिमा २५ किलोमिटर क्षेत्रको नाली निर्माण र ग्राभेल कार्यसमेत सम्पन्न हुने योजना छ। सडक कटिङको काम समाप्त भएको समान्तर इलाइट जेभीले जनाएको छ।
रिडीबाट तम्घाससम्मको ४५ किलोमिटर सडक विस्तारको क्रममा पहिलो चरणमा २५ किलोमिटर सडकको स्तरोन्नति र कालोपत्रे गरिँदै छ। यस निर्माण कार्यको ठेक्का समान्तर इलाइट जेभीले लिएको छ।
२०७९ फागुन २८ गते सम्झौता भई २०८२ फागुन २५ गतेसम्म सम्पन्न गर्ने लक्ष्यसहित एक अर्ब ५० करोड ४८ लाख ३२ हजार ९५९ रुपियाँ लागतमा सडक स्तरोन्नति तथा कालोपत्रे गर्ने सम्झौता भएको मदन भण्डारी राजमार्ग योजना कार्यालयले जनाएको छ।
गुल्मी जिल्ला सदरमुकाम तम्घाससम्म पहिलो पटक २०३८ सालमा स्थानीयवासीको पहलमा सडक खनेर ट्याक्टर ल्याइएको थियो। मदन भण्डारी राजमार्ग गुल्मीको रिडी–तम्घास–सिमलटारी–पुर्कोट हुँदै प्युठान जोडिएको छ।
राजमार्ग अन्तर्गत तम्घास–सिमलटारी खण्डको २९ किलोमिटर सडक पाँच वर्षअघि नै कालोपत्रे भइसकेको छ। सिमलटारी–सौतामारे–मच्छी सडक खण्डमा हाल कालोपत्रे गर्ने कार्य अघि बढेको छ। सौतामारेसम्म १६ किलोमिटर क्षेत्रमा निर्माण कार्य भइरहेको छ।
मदन भण्डारी राजमार्गको सिमलटारी–सौतामारे खण्डको निर्माण कार्य श्रेष्ठ सक्षम जेभी, काठमाडौंले गरिरहेको छ। यो सडक खण्डको निर्माण लागत एक अर्ब ४५ करोड ३२ लाख नौ हजार ९९० रुपियाँ रहेको छ।
– लोकसारथि समाचार