
लोकसारथि, २६ फागुन । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा मुद्रण उद्योग संघ, रुपन्देहीद्वारा आयोजित एक महिने ग्राफिक डिजाइन कम्प्युटर तालिम सुरु भएको छ। सोमवार एक समारोहका बीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले तालिमको उद्घाटन गरेका हुन्।
प्रविधिसँग कदम मिलाउँदै गुणस्तरीय मुद्रण सेवाको आवश्यकता
तालिम उद्घाटन समारोहमा बोल्दै प्रमुख पाण्डेले प्रविधिको तीव्र विकासलाई आत्मसाथ गर्न नसके मुद्रण व्यवसाय फस्टाउन नसक्ने धारणा व्यक्त गरे। उनले उपभोक्ताहरूले सधैं नयाँ शैली र डिजाइनको चाहना गर्ने भएकाले सिपयुक्त जनशक्ति आवश्यक पर्ने र यसमा स्थानीय सरकार सहयोगी रहने बताए। गुणस्तरीय मुद्रण सेवाका लागि तालिमबाट ठोस नतिजा निकाल्न उनले आग्रह गरे।
नेपाल मुद्रण व्यवसायी महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद पराजुलीले मुद्रण क्षेत्रले प्राविधिक जनशक्तिको अभाव महसुस गरिरहेको भन्दै तालिमको सही सदुपयोग गर्न आग्रह गरे।
सिप विकासमा जोड दिनुपर्ने आवश्यकता
लुम्बिनी प्रदेश मुद्रण उद्योग संघका अध्यक्ष घनश्याम घिमिरेले नयाँ प्रविधिको विकासले मुद्रण व्यवसायमा चुनौती थप्दै गएको उल्लेख गर्दै सिप विकास आवश्यक रहेको बताए।
संघका जिल्ला अध्यक्ष पशुपति पौडेलले तालिमको मुख्य उद्देश्य मुद्रण क्षेत्रमा प्राविधिकहरूको अभाव पूर्ति गर्नु रहेको जानकारी दिए। उनले व्यवसायमा देखिएका चुनौती हटाउन व्यवसायिक एकता र गुणस्तर कायम गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा संघका सल्लाहकार डिल्लीनारायण पाण्डे, पूर्व अध्यक्ष लिलाधर लुइटेल, सचिव राजु घिमिरे लगायतले शुभकामना मन्तव्य दिएका थिए।
३० जना प्रशिक्षार्थीको सहभागिता
तालिममा रुपन्देहीका विभिन्न प्रेसहरूमा कार्यरत तथा नयाँ ३० जना प्रशिक्षार्थीहरू सहभागी भएका छन्। हव आईटी ग्रुप प्रा. लि., बुटवल मिलनचोकले तालिमको सहजीकरणको जिम्मेवारी सम्हाल्नेछ।
यो तालिमले मुद्रण व्यवसायलाई नयाँ प्रविधिसँग अपडेट गर्न तथा दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।