कर्णाली प्रदेशमा पाँच हजारभन्दा बढी शिक्षकको दरबन्दी रिक्त
लोकसारथि, माघ २२, २०८१ । कर्णाली प्रदेशमा पाँच हजारभन्दा बढी शिक्षकको दरबन्दी रिक्त रहेको छ, जसले प्रदेशको शिक्षा क्षेत्रलाई चुनौतीपूर्ण बनाइरहेको छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बलवीर सुनारका अनुसार प्रदेशभर ५,५४९ शिक्षक दरबन्दी खाली रहेका छन्।
कर्णालीमा कूल २,९३१ सामुदायिक विद्यालयहरू छन्, जहाँ १७,३८४ शिक्षक आवश्यक भए पनि हाल ११,८६५ दरबन्दी मात्र भरिएका छन्। विद्यालय तहअनुसार दरबन्दी अभावको स्थिति झनै गम्भीर देखिएको छ।
प्राथमिक विद्यालय (प्रावि) स्तरमा ८,७९३ शिक्षक आवश्यक भए पनि हाल ८,१४९ जना मात्र कार्यरत छन्, जसले गर्दा ६४४ शिक्षकको कमी छ। यसैगरी, १,१४० निम्नमाध्यमिक विद्यालयहरूमा ४,५६० शिक्षक आवश्यक भए पनि हाल १,८६१ जना मात्र कार्यरत छन्, जसले गर्दा २,६९९ शिक्षक अपुग छन्।
माध्यमिक विद्यालय (मावि) स्तरमा ३,०२५ शिक्षक आवश्यक भए तापनि १,२७६ जना मात्र कार्यरत छन्, जसले गर्दा १,७४९ शिक्षकको कमी छ। उच्च माध्यमिक विद्यालय (उच्च मावि) तहमा १,०३६ शिक्षक आवश्यक भए पनि हाल ५७९ जना मात्र कार्यरत छन्, जसले गर्दा ४५७ शिक्षकको दरबन्दी खाली रहेको सुनारले जानकारी दिए।
विशेषगरी अंग्रेजी, गणित, र विज्ञान विषयका शिक्षकहरूको अभाव बढी रहेको उनले बताए। कानुनअनुसार प्रावि तहमा कम्तीमा तीन, निमावि तहमा चार, मावि तहमा पाँच, र उच्च मावि तहमा चार शिक्षक हुनु अनिवार्य छ।
शिक्षकको कमी पूरा गर्न निजी स्रोत, स्थानीय तह, प्रदेश सरकार, र संघीय सरकारको सहयोगमार्फत अस्थायी शिक्षक नियुक्त गरिएका छन्। कर्णालीमा बालविकासदेखि उच्च माध्यमिक तहसम्म ६ लाखभन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने प्रदेशको साक्षरता दर ७६.१ प्रतिशत रहेको छ।
शिक्षा क्षेत्रमा देखिएको यो चुनौती समाधान गर्न प्रदेश सरकारले दीर्घकालीन योजना बनाउनु आवश्यक देखिएको छ।