लोकसारथि, २६ फागुन । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन तुरुन्त जारी गर्न सरकारलाई दबाब दिन दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ। पहिलो चरणको आन्दोलनमा सरकार समक्ष आफ्ना मागहरू राख्दा कुनै सुनुवाइ नभएपछि महासंघले अब राजनीतिक दलका कार्यालयहरूमा धर्ना दिने निर्णय गरेको छ।
महासंघका अनुसार, शिक्षाको गुणस्तर वृद्धि तथा शिक्षक कर्मचारीका माग सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन ल्याउन दबाब दिने उद्देश्यले आन्दोलनलाई तीव्र बनाइनेछ।
दलका कार्यालयहरूमा चरणबद्ध धर्ना
महासंघले फागुन २७ देखि चैत ५ सम्म विभिन्न प्रमुख राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिने तालिका सार्वजनिक गरेको छ।
🔹 फागुन २७ – नेपाली कांग्रेस
🔹 फागुन २८ – नेकपा एमाले
🔹 चैत १ – नेकपा माओवादी केन्द्र
🔹 चैत २ – नेकपा (एकीकृत समाजवादी)
🔹 चैत ३ – राष्ट्रिय स्वतन्त्र पार्टी
🔹 चैत ४ – जसपा, लोसपा र राष्ट्रिय जनमोर्चा
🔹 चैत ५ – जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राप्रपा
सांसदहरूसँग भेटघाट र रिले अनशनको तयारी
महासंघले संघीय सांसदहरूलाई भेटेर ऐन पारित गर्न दबाब दिने रणनीति समेत अघि सारेको छ। यसका लागि हरेक जिल्लामा आन्दोलन परिचालन समिति गठन गरी सांसदहरूसँग छलफल गर्ने कार्यक्रम छ।
यदि यी कार्यक्रमबाट पनि सरकारले माग पूरा नगरेमा, महासंघले चैत ७ देखि १५ सम्म रिले अनशन बस्ने घोषणा गरेको छ।
महासंघका नेताहरूले विद्यालय शिक्षा ऐन यथाशीघ्र ल्याउन सरकार गम्भीर नबने आन्दोलनलाई थप कडा बनाउने चेतावनी दिएका छन्।
