नेपालमै पहिलो पटक निजी क्षेत्रबाट सञ्चालित क्रिकेट स्टेडियममा फ्लड लाइट जडान

रुपन्देही । नेपालमै पहिलो पटक निजी क्षेत्रबाट सञ्चालित क्रिकेट स्टेडियममा करिब सात करोड लगानीमा फ्लड लाइट जडान थालिएको छ। रुपन्देहीको तिलोत्तमा एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा शनिबारदेखि फ्लड लाइट जडानको काम सुरु हुने भएको छ।

स्टेडियमका प्रबन्धक निर्देशक विनोद कुँवरले शुक्रबार बिहान बुटवलमा आयोजित पत्रकार सम्मेलनमा लाइट जडान सुरु हुने जानकारी दिए। ‘स्टेडियममा फ्लड लाइट जडान नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धि हुनेछ। अबको एक महिनाभित्र लाइट जडान पूर्ण रूपमा सम्पन्न भई डे-नाइट म्याच खेलाउन सकिनेछ,’ कुँवरले बताए।

२०७९ जेठ २९ गते शिलान्यास भएको स्टेडियम २०८० फागुनमै खेल्न योग्य बनेर फागुन २८ मा उद्घाटनसहित लिजेण्ड्स कप क्रिकेट प्रतियोगिता आयोजना गरी भव्य रूपमा सम्पन्न गरिएको थियो।

गत वर्षको फागुनयता यो मैदानमा एक सयभन्दा बढी खेल भइसकेका छन्। नेपालका १९ वर्ष मुनिको विश्वकप खेलेको महिला टोली र नेपाल प्रिमियर लिग टिम लुम्बिनी लायन्सले यो मैदानमा अभ्यास गरिसकेका छन्। भारतबाट पनि केही क्लबस्तरीय टोली आएर खेलेको जानकारी दिइएको छ।

स्टेडियममा नेट प्राक्टिसका लागि छुट्टै पिच निर्माण भइरहेको छ। साथै, चार-चार तलाको दुईवटा भवन, भीआईपी बक्स, प्लेयर बक्स, चेन्जिङ रुम, मिडिया बक्स निर्माणको काम जारी छ। हाल तेस्रो तलाको निर्माण भइरहेको र कुनै प्रतियोगिता आयोजना भए भीआईपी बक्सबाट खेल हेर्न सकिने अवस्थामा रहेको कुँवरले बताए।

अस्ट्रेलियामा व्यवसाय गर्दै आएका गुल्मीका कुँवरको लगानीमा तिलोत्तमा नगरपालिका-१७ मा निर्माणाधीन एक्स्ट्राटेक ओभल नेपालकै पहिलो निजी क्षेत्रबाट सञ्चालित व्यावसायिक क्रिकेट मैदान हो।

प्रतिक्रिया दिनुहोस्

छुट्यो कि ?

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.