चार देशीय महिला च्याम्पियनशिप: नेपालको नजर उपाधिमा

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक राजेन्द्र तामाङले गत साफको प्रदर्शन र राम्रो तयारी भएकाले घरेलु मैदानमा आगामी हप्तादेखि शुरु हुने च्याम्पियनशिप जित्ने लक्ष्य रहेको बताएका छन् ।

आगामी फागुन ५ गतेदेखि दशरथ रङ्गशालामा नेपालले लेबनान, म्यानमार र किर्गिस्तान सम्मिलित चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिपमा खेल्दैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले गत माघ २० गतेदेखि ३९ जना प्रारम्भिक टोली घोषणा गर्दै प्रशिक्षण शुरु गरेको थियो । 

प्रशिक्षक तामाङले हाल ३० जना टोली छनोट गर्दै प्रशिक्षण गराइरहेका छन् । प्रशिक्षक तामाङले साँझ फ्लड लाइट र बिहान तर्फमा प्रशिक्षण गरिरहेको उल्लेख गर्दै सबै खेलाडी फिट रहेको बताए । उनले गत साफको प्रदर्शनले खेलाडी उत्साहित रहेकाले जित्ने लक्ष्यसहित तयारी गरिरहेको विश्वास व्यक्त गरे । 

घरेलु लिग तर्फ खेलिरहेको र यो प्रतियोगिता घाँसे मैदानमा खेल्दा केही फरक पर्न सक्ने भए पनि आफ्ना खेलाडी अभ्यस्त हुने उनको विश्वास छ । घरेलु मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता भइरहँदा उपाधि घरमा नै राख्ने चाहने हुने भए पनि खेलमा यसै हुन्छ भन्न नसकिने र त्यसमा पनि म्यानमार धेरै राम्रो टोली रहेको उनले उल्लेख गरे । म्यानमारले आफूभन्दा बलिया र फिफा वरीयतामा माथिल्ला टोलीसँग खेलिरहेकाले बलियो रहेको तामाङ बताउँछन् । यद्यपि आफ्नो टोलीले पनि त्यहीअनुरूप तयारी गरिरहेको उनको भनाइ छ । 

मिडफिल्डर दीपा शाही र डिफेन्डर हीराकुमारी भुजेल नेपाली महिला टोलीको महत्त्वपूर्ण खेलाडी हुन् । उनीहरू गत महिला साफ च्याम्पियनशिपका दौरान नै चोटका कारण मैदान बाहिर छन् । अहिले दुवै जना रिकभर भैसकेको छैनन् ।

प्रशिक्षक तामाङले उनीहरू धेरै उत्कृष्ट खेलाडी रहेकाले अभाव खड्किने उल्लेख गर्दै उनीहरूको स्थानमा विकल्प खोजिएको बताए । नयाँ खेलाडी अनुभवी नभए पनि क्षमतावान रहेको प्रशिक्षक तामाङको विश्वास छ ।

समग्रमा आफ्नो टोली राम्रो रहेको र खेलाडी पनि आफैँ उत्साही रहेको उनको भनाइ छ । टोलीको अग्रपङ्क्तिमा खेल्ने दुई खेलाडी रेखा पौडेल र सावित्रा भण्डारी खेलको केही दिनअगाडि आउने भएकाले टिम कम्बिनेसनमा केही समस्या हुनसक्ने उनको भनाइ छ । यद्यपि, पछिल्ला खेलका रिभ्यु गरेर सुधार गर्ने प्रशिक्षक तामाङको अपेक्षा छ । 

एएफसी एसियन कप र फिफा महिला विश्वकपको तयारी स्वरूप एन्फाले यो च्याम्पियनसिप आयोजना गरेको हो । सोहीअनुरूप चार देशीय च्याम्पियनसिप खेल्न लागेको हो । यद्यपि, म्यानमारबाहेक दुई टोली किर्गिस्तान र लेबनान नेपालभन्दा फिफा वरीयतामा तलका टोली हुन् । म्यानमार हाल फिफाको ५५ औँ स्थानमा छ । जुन नेपालभन्दा ४८ औँ स्थान माथि हो । किर्गिस्तान १२८ औँ र लेबनान १३४ औँ स्थानमा छन् । त्यसैले ठूलो महत्त्वाकाङ्क्षा राखेको एन्फाले तुलनात्मक रूपमा कमजोर टोलीसँग तयारी गर्न लागेको हो । 

प्रशिक्षक तामाङले फिफा वरीयतामा केही माथि र तल रहेको टोली भए पनि खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरे । आफूहरूले फिफा वरीयतामा धेरै माथिका टोलीसँग पनि खेलिसकेकाले म्यानमारसँग कठिन नहुने र हामी सक्छौँ भन्ने सोचेर खेल्दा गाह्रो नहुने आशा गरे । लेबनान र किर्गिस्तानसँग खेलिसकेकाले म्यानमार पनि केही बलियो रहेको उनको भनाइ छ । 

नेपाली टोलीका युवा खेलाडी प्रीति राईले भर्खरै लिग खेलिरहेकाले म्याच एक्सपोजर पनि पाएको र तयारी पनि राम्रो भएकाले प्रतियोगितामा सुखद हुने आशा गरिन् । फिफा वरीयताले खासै असर नहुने आफ्नो टोलीमा क्षमतावान् रहेको प्रीतिले बताइन् । सबै टोली समान बलियो रहे पनि जित निकाल्ने लक्ष्यसहित खेल्ने उनको अपेक्षा छ । चोटले केही खेलाडी घाइते भए पनि नयाँ खेलाडी पनि राम्रो रहेको प्रीति बताउँछिन् । जहिल्यै पनि स्वर्ण जित्ने लक्ष्यसहित खेले पनि यसपल्ट सफलता पाउने आशामा नेपाली रहेको रहेको छ । 

प्रतियोगिताका लागि टिकट दर साधारण पारापिटतर्फ पाँच सय रुपैयाँ र भीआईपीतर्फ एक हजार रुपैयाँ तोकिएको छ । किर्गिस्तान आज आउँदैछ भने अन्य दुई टोली भोलि आउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

छुट्यो कि ?

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.