काठमाडौँ — प्यालेस्टिनी समूह हमासले शनिबार चारजना इजरायली बन्धकहरू मुक्त गरेको छ । उनीहरूलाई गत आइतवार गाजामा भएको युद्धविराम तथा बन्धक छाड्ने सम्झौताअनुसार रिहा गरिएको हो ।
सीएनएनका अनुसार शनिबार रिहा भएका करिना अरिएभ, डानिएला गिल्बोआ, नामा लेभी र लिरी अल्बाग इजरायली महिला सैनिकहरू हुन् । चार महिला सैनिकको बदलामा इजरायलले करिब २ सय जना प्यालेस्टिनी बन्दीहरूलाई छाड्ने जनाइएको छ । बन्धकहरू छुट्ने तयारी भएसँगै गाजा सीटीको केन्द्रमा सर्वसाधारणहरूको भीड जम्मा भएको छ ।
त्यहाँ सैन्य पोशाकमा रहेका दर्जनौँ हमास लडाकुहरू देखिएका जनाइएको छ । उनीहरूमध्ये केहीले बन्दुक बोकेका बीबीसीले जनाएको छ । इजरेलतर्फ तेलअभिभको होस्टेज स्क्वायरमा भेला भएका मानिसहरूले ठूलो पर्दामा गाजाको प्रत्यक्ष खबरको दृश्य हेरिरहेका थिए ।
हमासले केही दिनमा युद्धविरामको पहिलो चरणमा मुक्त गरिने अन्य २६ जना बन्धकबारे जानकारी दिने अनुमान गरिएको छ । हमास र इजरायलबीच भएको सम्झौतामा प्रत्येक इजरायली सैनिक बराबर ५० जना र प्रत्येक सर्वसाधारण बराबर ३० जना प्यालेस्टिनी बन्दी छाड्ने उल्लेख छ ।
सम्झौता अनुसार झण्डै ६ साता लामो पहिलो चरणको युद्धविराममा हमासले ३३ जना इजरायली बन्धक छाड्नेछ । त्यसको बदलामा इजरायली जेलमा रहेका करिब १९ सय प्यालेस्टिनी बन्दीहरू रिहा हुने जनाइएको छ । युद्धविरामको दोस्रो चरणको वार्ता भने पहिलो चरण सुरू भएको १६ दिनमा हुने सम्झौतामा उल्लेख छ ।
दोस्रो चरणमा बाँकी बन्धकलाई रिहा गरिनुका साथै गाजा क्षेत्रबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता हुने जनाइएको छ । तेस्रो तथा अन्तिम चरणमा गाजाको पुनर्निर्माण अघि बढाइने सम्झौतामा उल्लेख छ । यो चरणमा बाँकी बन्धक रिहा तथा शवहरू फिर्ता गरिने जनाइएको छ ।
हमासले सन् २०२३ को अक्टुबर ७ मा इजरायलमा गरेको आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो । २५१ जनालाई बन्धक बनाएर लगेको थियो । त्यसलगत्तै हमास र इजरायलबीच युद्ध चर्किएको हो । गाजास्थित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यताको युद्धमा ४६ हजार ८ सय प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन् । तीमध्ये एक तिहाइभन्दा बढी बालबालिका छन् ।
प्यालेस्टिनी अधिकारीहरूका अनुसार मारिएका बालबालिकाको संख्या १८ हजार नाघिसकेको छ । इजरायली आक्रमणमा १ लाख १० हजार घाइते भएका छन् । इजरायलतर्फ १४ सयभन्दा बढीको ज्यान गएको छ ।