‘फूल छरिदियौ मेरो पथमा’
तिम्लाई भुल्ने केही मसँग उपाय छैन
तिमी वर्तमान हौ, तिमी नै छौ बिगतमा
तिम्रो चोखो प्रेम हावा बनी बगेको छ
तिमी मेरो सासमा तिमी मेरो रगतमा
आश छ, सास छ, जीवनको आभास छ
सबै छ, तिमी छैनौ, मन साह्रै उदास छ
अमूल्य प्रेम तिम्रो, हरएक याद खास छ
भेट हुन्न होला कहिलै मनभरि अत्यास छ
खोज्न पाए खोज्थेँ जुनसुकै जगतमा
तिमी मेरो सासमा तिमी मेरो रगतमा
दैवले त बनायो, बुझ्नै नसकिने रीति
मिलन बिछोडको तोक्यो पहिलै मिति
सुखदुःख भोग्ने छुट्यायो दिन र तिथि
निर्मम कति काल बनाइदिन्छ घिटिघिटि
रचेर मेटाउने बनायो संसार फगतमा
तिमी मेरो सासमा तिमी मेरो रगतमा
दुनिया बनाएर हेर्छ खेल लुकीलुकी
भावना मनमा राखेर चलाइदियो ढुकढुकी
मायाफन्दामा पर्छन् मानिसहरु झुक्की
प्यारो मान्छे दिएर लैजान्छ आफैँले खोसी
किन पार्छस् दैव झुटो संसारको लतमा
तिमी मेरो सासमा तिमी मेरो रगतमा
पापको फल मेरो साटो तिमीले भोग्यौ
मलाई बचाएर पीडा आफ्नो लागि रोज्यौ
मलाई पछि पारेर मृत्युसँग एक्लै जुध्यौ
साथ छोडेर यसरी खै तिमी कहाँ लुक्यौ
कण्टक टिपेर फूल छरिदियौ मेरो पथमा
तिमी मेरो सासमा तिमी मेरो रगतमा