काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासत बसाइको तस्बिर सार्वजनिक गर्ने डा. निकोलस भुसाल पुनः पक्राउ परेका छन् ।
हिरासत बसाइको तस्बिर सार्वजनिक प्रकरणको थप अनुसन्धान गर्न भन्दै प्रहरीले बिहीबार उनलाई नियन्त्रणमा लिएको हो ।
यसअघि गत पुस ७ गते गते उनी सोही अभियोगमा पक्राउ परेका थिए । तर अदालतले थुनाबाहिरै राखेर अनुसन्धान गर्न भनेपछि प्रहरी उनलाई नियन्त्रणमुक्त गर्न बाध्य भएको थियो ।
दोस्रो पटक पक्राउ परेका भुसाललाई प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराउने तयारी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले भुसालमाथि अनुसन्धान गर्न समय आवश्यक भएकाले शुक्रबार अदालतमा उपस्थित गराउन लागिएको जनाएको छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले कास्कीस्थित हिरासतमा राखेका बेला भेट्न पुगेका भुसालले सुतिरहेको अवस्थाको उनको तस्बिर खिचेर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिएका थिए । लगत्तै सरकार र प्रहरीको मिलेमतोमा हिरासत बसाइको तस्बिर सार्वजनिक गरिएको भन्दै चौतर्फी आलोचना भएको थियो । यसपछि भुसालले फेसबुक लाइभमा आएर उक्त तस्बिर आफूले खिचेको र त्यसको नियत खराब नरहेको प्रष्टीकरण दिएका थिए ।
प्रहरीले गत पुस ७ गते हिरासतमा रहेका अभियुक्तको तस्बिर गैरकानूनी ढंगले खिचेर सार्वजनिक गरेको आरोपमा उनलाई पक्राउ गरेर जिल्ला अदालत कास्कीमा उपस्थित गराए पनि न्यायाधीशले थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएका थिए । अनुसन्धानका क्रममा केही प्रमाण भेटिएको र नियन्त्रणमा लिएरै अनुसन्धान गर्नुपर्ने भएपछि उनलाई पुनः पक्राउ गरिएको प्रहरी भनाइ छ ।
भुसालविरुद्ध प्रहरीले साइबर अपराधसम्बन्धी कसुरमा मुद्दा लगाउने तयारी गरेको छ ।