पुसमै पाक्यो ‘चैतेकाफल’

लोकसारथि, ३ माघ । चैतमा पाक्ने काफलको परिचय फेरिँदै गएको छ । विगतमा चैतमा मात्रै फल्ने भएकाले चैतेकाफल भन्ने गरिएकामा अचेल पुस–माघमै फल्ने थालेपछि त्यसको नामबारे अन्योल बनेको छ ।

हुन त धेरैतिरबाट यस्ता खबरहरू आउने भएकाले आजभोलि कतिपयका लागि यो आश्चर्यको विषय होइन तर दाङको तुलसीपुर उपमहानगरपालिका–१९, छिल्लीकोटमा भने धेरै जना आश्चर्यचकित छन् किनकि यहाँ पुसमै काफल पाक्न थालेको छ ।

विगत वर्षदेखि यस क्षेत्रमा कुनै वर्ष चैतभन्दा पछि, कुनै वर्ष त्यसभन्दा अघि नै काफल पाक्न थालेपछि धेरै मानिस अचम्मिच बनेका हुन् । गएको वर्ष जेठसम्म पनि चैतेकाफल नपाकेको छिल्लीकोटमा यस वर्ष भने पुसमै पाकेको छ । यस्तो कहिल्यै हुन्थेन ।

केही वर्षअघिसम्म चैतेकाफल चैतमै पाक्ने गरेको भए पनि पछिल्लो समय कहिले अघि र कहिले पछि पाक्दा आफूहरू अचम्मित भएको स्थानीयहरुको भनाइ छ ।

यस वर्ष पुसमै काफल चाख्न स्थानीयहरु बताउँछन् । यहाँ पुसको तेस्रो हप्तादेखि काफल पाक्न थालेको हो ।

जलवायु परिवर्तनका कारण यस्तो समस्या देखिने गरेको तुलसीपुर उपमहानगरपालिकाका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताए । उनका अनुसार चिसो मौसममा १० डिग्रीभन्दा कम तापक्रम नहुँदा यसरी अगाडि नै काफल पाकेको उनको भनाइ छ ।

बिरुवामा हर्मोनल प्रभावले यसरी समयभन्दा ढिलो र छिटो हुने गौतमको भनाइ छ । बिरुवामा पातको मुना आउने र फूलको मुना आउने आ–आफ्नै समय हुने गरेको भए पनि यसपटक सँगसँगै पातको मुना र फूलको मुना आउँदा पनि त्यस्तो प्रभाव परेको हुनसक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

छुट्यो कि ?

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.