वासिङ्टन डीसी, अमेरिका – अमेरिकामा यात्रुवाहक विमान र हेलिकोप्टर ठोक्किएर गम्भीर दुर्घटना भएको छ। बीबीसीको समाचारअनुसार, एक अमेरिकी एयरलाइन्सको विमान राजधानी वासिङ्टन डीसीको आकाशमा हेलिकोप्टरसँग ठोक्किएर पोटोमाक नदीमा खसेको छ।
सङ्घीय उड्डयन प्रशासनले दिएको जानकारीअनुसार, दुर्घटना स्थानीय समयअनुसार राति ९ बजे रेगन वाशिङ्टन राष्ट्रिय विमानस्थल नजिकै पोटोमाक नदीमाथि भएको हो। दुर्घटनापछि रेगन विमानस्थलले सामाजिक सञ्जाल एक्समा लेखेको छ – ‘सबै उडान तत्कालका लागि बन्द गरिएका छन्।’
नेपाली समयअनुसार बिहीबार बिहान वासिङ्टन डीसीको आपतकालीन उद्धार टोली दुर्घटनास्थलमा पुगेको छ। विमानस्थल वरपरका क्षेत्रमा दर्जनौँ एम्बुलेन्स र दमकल परिचालन गरिएको देखिएको छ।
डीसी फायर र ईएमएस विभागका अनुसार विमान पोटोमाक नदीमा खसेको छ, जुन नदी वासिङ्टन डीसी हुँदै बग्दछ। उद्धारका लागि फायरबोटहरू नदीमा परिचालित भएका छन्।
विमान र हेलिकोप्टरमा कति यात्रु र चालक दलका सदस्य थिए भन्ने विषयमा हालसम्म कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।