अछाममा दुई किशोरीको हत्या प्रकरणः प्रहरीद्वारा घटनाको समाधानको दाबी

अछाम, माघ १९ — अघिल्लो शुक्रबार बेपत्ता भएका अछाम ढकारी गाउँपालिका–८ की १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया ईशरा खड्काको हत्या भएको पुष्टि भएको छ। सुनघर सामुदायिक वनमा मृत अवस्थामा फेला परेका यी किशोरीहरूको हत्याको आशंकामा प्रहरीले दुई किशोरलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी ईश्वरी प्रसाद भण्डारीले घटनाबारे भोलि बिहान पत्रकार सम्मेलन गरी सम्पूर्ण तथ्य सार्वजनिक गरिने जानकारी दिएका छन्। “घटनाका धेरै पक्षहरूमा निष्कर्षमा पुगिसकेका छौँ,” उनले भने, “भोलि सबै विवरण सार्वजनिक गरिनेछ।”

पक्राउ परेका दुई किशोरले घटनामा संलग्नता स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ। ती किशोरहरू पनि मृतकहरूसँगै बाख्रा चराउन गएका थिए। प्रारम्भिक अनुसन्धानअनुसार गोठालो गर्ने क्रममा विवाद उत्पन्न भई घटना घटेको हुन सक्ने अनुमान गरिएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डिआइजी गणेश चन्द, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), प्रदेश प्रहरी कार्यालय धनगढी, महेन्द्रनगर र अछाम प्रहरीको संयुक्त टोलीले फरक–फरक दृष्टिकोणबाट अनुसन्धान गरेको थियो।

यसअघि नै मृतक किशोरीहरूका आफन्तहरूले हत्या नै भएको दाबी गर्दै ती दुई किशोरविरुद्ध किटानी जाहेरी दिएका थिए। नातामा फुपू–भदैनी पर्ने सरस्वती र ईशरा कमलबजार नगरपालिका–१० स्थित विद्याप्रवोधिनी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिए।

यो हृदयविदारक घटनाले सिङ्गो ढकारी गाउँपालिका र विद्यालय परिवारलाई शोकमा डुबाएको छ। स्थानीय बासिन्दाहरू घटनाको सत्यतथ्य चाँडो सार्वजनिक गर्न माग गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

छुट्यो कि ?

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.