काठमाडौँ, माघ २१ – काठमाडौँ महानगरपालिकाले कानुनविपरीत चुरोटको विज्ञापन गर्ने वितरक कम्पनी ‘सेभेन ओसियन’माथि कारबाही गरेको छ। महानगरले कम्पनीलाई २५ हजार रुपैयाँ जरिवाना गर्दै आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ।
‘सेभेन ओसियन’ कम्पनीले ‘क्यामेल’ ब्रान्डको चुरोट प्रचार गर्न विभिन्न चिया-पसल, भोजनालय र रेस्टुरेन्टहरूमा भित्तेलेखन, पोस्टर टाँस्ने, रङरोगन गर्ने जस्ता गतिविधिहरू गरेको पाइएपछि कारबाही गरिएको हो।
यसअघि स्वास्थ्य खबर ले ‘सरकारकै संरक्षणमा कानुनविपरीत सूर्तिजन्य पदार्थको प्रवर्द्धन गर्दै चौधरी ग्रुप’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो। उक्त समाचारमा चौधरी ग्रुप अन्तर्गतको कम्पनी ‘पर्फेक्ट ब्लेन्ड्स नेपाल’ले उत्पादन गर्ने ‘क्यामेल’ ब्रान्डको चुरोट अवैध रूपमा प्रवर्द्धन गरिएको उल्लेख गरिएको छ।
सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८ अनुसार स्वास्थ्यका लागि हानिकारक सूर्तिजन्य पदार्थको विज्ञापन, प्रचार–प्रसार तथा प्रायोजन गर्न निषेध गरिएको छ। ऐनको दफा १० मा भनिएको छ, “होर्डिङ बोर्ड, भित्तेलेखन, लोगो, संकेत, लेख, दृश्य, आवाज, चिन्ह, व्यक्ति वा अन्य कुनै माध्यमबाट सूर्तिजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन गर्न पाइने छैन।”
तर, कम्पनीले भित्ता रंग्याउने, प्रचार सामग्री झुण्ड्याउने, लाइटर जस्ता उपहार वितरण गर्ने, रेस्टुरेन्ट तथा चिया पसलहरूमा चुरोट ब्रान्डको लोगो झुण्ड्याउनेजस्ता गतिविधि गरेको पाइएपछि महानगरले हस्तक्षेप गरेको हो।
चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी नेपाली कांग्रेसका सांसद हुन् भने उनका छोरा निर्वाण चौधरी ‘पर्फेक्ट ब्लेन्ड्स नेपाल’ का प्रबन्ध निर्देशक हुन्।
महानगरले आगामी दिनमा पनि यस्ता अवैध विज्ञापन र प्रवर्द्धनमाथि कडा निगरानी र कारबाही गर्ने जनाएको छ।