रवि लामिछानेविरुद्ध ठगी अभियोजन विषयमा छानबिन समिति गठन

लोकसारथि, माघ २३ । चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले रवि लामिछानेविरुद्ध लगाएको ठगी अभियोजनको विषयमा छानबिन गर्न समिति गठन गरिएको छ। महान्यायाधिवक्ताको कार्यालयले नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको संयोजकत्वमा गठन गरिएको छानबिन समितिमा सहन्यायाधिवक्ता सूर्यराज दाहाल, उच्च अदालत सरकारी वकिल कार्यालय हेटौँडाका सहन्यायाधिवक्ता ईश्वरीप्रसाद ढकाल, र उपन्यायाधिवक्ता रुद्रप्रसाद आचार्य सदस्य रहेका छन्।

समितिले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलन अभियोजन कसरी गरिएको हो भन्ने विषयमा सत्यतथ्य पत्ता लगाउनेछ। यसअघि रास्वपा सभापति रवि लामिछानेलाई संगठित अपराध मुद्दाबाट उन्मुक्ति दिइएपछि चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेललाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा गरिएको थियो। उनीसँगै उपन्यायाधिवक्ता रवि न्यौपानेलाई चितवन सरुवा गरिएको थियो।

सरकारी वकिलको कार्यालयले सहकारी संस्थाको अपचलन मुद्दामा ३२ जनाविरुद्ध अभियोजन गरेको छ। तीमध्ये १२ जनाविरुद्ध मात्र संगठित अपराध र ठगीको मुद्दा दर्ता गरिएको छ भने बाँकीलाई ठगी मुद्दामात्रै चलाइएको छ। गोरखा मिडिया नेटवर्क प्रालिसँग सम्बन्धित तीन जनालाई दुबै मुद्दा दर्ता गरिए पनि प्रबन्ध निर्देशक रहेका रवि लामिछानेलाई भने ठगी मुद्दामात्रै चलाइएको थियो।

जिल्ला प्रहरीले भने रवि लामिछानेविरुद्ध दुवै मुद्दा दर्ता गर्न माग गर्दै प्रतिवेदन बुझाएको थियो। सरकारी वकिल कार्यालय चितवनले लामिछानेको संलग्नता गोरखा मिडियामा गएको रकमको चेक काट्ने बाहेक अन्य प्रमाण नदेखिएको बताएको छ। साहारा चितवन सहकारीबाट गोरखा मिडियामा १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ गएको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

छुट्यो कि ?

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.