पुस १७ गते नगरसभाबाट अनुमोदन गरिएको नगर गानलाई लिएर नगर गानका रचयिता डिल्लीनारायण पाण्डेयलाई बधाईको ओइरो आएको छ । एरेन्ज तथा कम्पोज सुरेश सेन्चुरीको रहेको उक्त गानले बुटवलको ऐतिहासिक, शैक्षिक, कृषि, उद्यम लगायतका विविध पक्षलाई सशक्त ढंगले उजागर गरेको छ । नेपालको समृद्ध भूभागमा अवस्थित बुटवलले प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक र आर्थिक महत्त्वको अनुपम उदाहरण प्रस्तुत गर्दछ। प्रस्तुत रचना बुटवलको सुन्दरता, सम्पदा, र विशेषतालाई उजागर गर्दै यस क्षेत्रको महत्त्वलाई प्रष्ट्याउने निष्पाप प्रयास हो।
प्राकृतिक सम्पदाको खानी
बुटवललाई चुरे पर्वतले सुशोभित गर्दै यसलाई उर्वर तराईसँग जोडेको छ। तिनाउ नदीको कलकल बग्दै बुटवललाई जलस्रोतको समृद्धिको प्रतीक बनाएको छ। यहाँको हावापानी, हरियाली, र प्राकृतिक सम्पदाले यस क्षेत्रलाई अद्वितीय बनाएको छ। यो सम्पदा पर्यटक आकर्षणको केन्द्र बनेको छ।
ऐतिहासिक गौरव र सांस्कृतिक विविधता
रामापिथेकसको अस्तित्वले बुटवललाई पुरातन सभ्यताको साक्षी बनाएको छ। बुद्धको भूमि, सिद्धभूमिको परिचयले यस क्षेत्रमा आध्यात्मिक महत्त्व थपेको छ। मणिमुकुन्द, उजिरसिंह, र जितगढीको इतिहासले यो क्षेत्रलाई राष्ट्रिय स्वाभिमानको प्रतीक बनाएको छ। बहुभाषा, धर्म, संस्कार र रीतिरिवाजको संगम बुटवलको सांस्कृतिक विविधताको उज्यालो पक्ष हो।
आर्थिक र शैक्षिक केन्द्र
बुटवल कृषि, उद्योग, व्यापार, र पर्यटनका लागि प्रमुख केन्द्रको रूपमा विकसित हुँदै आएको छ। आधुनिक शिक्षा र स्वास्थ्य सेवाका लागि यो सहरले देशभर ख्याति कमाएको छ। यस क्षेत्रका उद्योग र व्यापारिक गतिविधिले स्थानीयबासीको जीवनस्तरलाई उकास्न मद्दत पुर्याएको छ।
सहर विकासको उदाहरण
बुटवलले आफ्नो ऐतिहासिक, सांस्कृतिक, र प्राकृतिक महत्त्वलाई जोगाउँदै आधुनिक सहर विकासको उत्कृष्ट नमूना प्रस्तुत गरेको छ। यहाँको सभ्यता र शहरीकरणले स्थानीयबासीको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याएको छ।
‘खस्यौली, राम्रो बटौली, प्यारो बुटवल’ भन्ने भावले बुटवलवासीको गर्व र स्वाभिमानलाई व्यक्त गर्दछ। यहाँको प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक र आर्थिक पक्षले यसलाई नेपालको गौरवको रूपमा उभ्याएको छ। बुटवलजस्तो सहरको विकास र संरक्षणमा सबैको सामूहिक प्रयास आवश्यक छ। यो सहर नेपालको भविष्यको सम्भावना हो, जसलाई उज्यालो बनाउन हामी सबैले भूमिका निर्वाह गर्नुपर्छ ।
नगर गानमा उल्लेख भएका शब्दभावद्वारा व्यक्त यी सबल पक्ष हुन् । लगभग ६० ओटा शब्दसमूहको नगर गान राष्ट्रिय गानबाट अधिकतम अभिप्रेरित भएको देखिन्छ । निकृष्ट र उत्कृष्ट भन्ने अर्थमा मानिस मानिस वा नेपाली नागरिक बिचको सद्भाव, एकता र राष्ट्रियतालाई खलबलाउने आधार वा बल प्रदान गर्ने भएकाले ‘बहुल जाति’ शब्दलाई राष्ट्रिय गानबाटै हटाउनुपर्ने परिप्रेक्ष्यमा नगर गानमा पनि ‘थरिथरि जाति’ शब्दभावको प्रयोग भएको छ ।
जातिगत संरचना केही वर्गविशेष आफैले बनाउने र आफैले त्यसलाई पछ्याउने काम भइरहँदा यसले मानव सबै एउटै जाति हुन् भन्ने शाश्वत सिद्धान्तलाई चुनौती दिएको छ । वसुधैव कुटुम्बकम भन्ने हाम्रा पुर्खाको निर्देशनलाई ठाडो अस्वीकार गरेको छ । विज्ञानले पनि धर्तीमा जन्मिएका मानिसहरु सबै एउटै जाति अन्तर्गत पर्दछन् अर्थात् होमो सेपियन्स हुन् भनेको छ । कालान्तरमा सत्तारुढ कुनै वर्गविशेषले निर्माण गरेको जातीय संरचना यस्तै यस्तै बहुल जाति वा थरिथरि जाति भन्ने शब्दभावमा आज पनि जीवित रहेको छ जसले न त हाम्रा पुर्खा वा शास्त्रको निर्देशनलाई अनुशरण गर्दछ न त विज्ञानले पुष्टि गरेको तथ्यलाई स्वीकार नै । त्यसैले पत्रकार, साहित्यकार, गीतकार वा लेखकहरुले कलम चलाउँदा शब्दभावको दीर्घकालीन असरलाई ध्यानमा राख्न जरुरी छ । जे होस्, नगर गान पाएकोमा बुटवल उपमहानगरपालिकालाई बधाई छ ।