काठमाडौं – भारतीय योग गुरु बाबा रामदेव र पतञ्जली योग पीठका सह-संस्थापक आचार्य बालकृष्णविरुद्ध भारतको केरला राज्यमा पक्राउ पुर्जी जारी गरिएको छ। औषधि ऐन, १९५४ उल्लङ्घन गरेको आरोपमा उनीहरुविरुद्ध केरला औषधि नियन्त्रण विभागले कानूनी प्रक्रिया अघि बढाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अदालतले बाबा रामदेवलाई यसअघि अदालतको पेशीका लागि उपस्थित हुन आदेश दिएको थियो। तर, उनले आदेश पालना नगरेको भन्दै पक्राउ पुर्जी जारी गरिएको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार, पतञ्जली योग पीठले उत्पादन गरेका केही औषधिहरू भारतीय औषधि ऐनको मापदण्ड विपरीत रहेको आरोप छ। केरला औषधि नियन्त्रण विभागले सो आरोपलाई गम्भीरताका साथ लिएर कानूनी कारबाही अघि बढाएको जनाएको छ।
बाबा रामदेव र आचार्य बालकृष्ण पतञ्जली योग पीठका मुख्य अनुहार हुन्। पतञ्जलीले योग, आयुर्वेद, र प्राकृतिक औषधि क्षेत्रमा ठूलो प्रभाव जमाएको छ। तर, पछिल्लो समय कम्पनीले उत्पादन गरेका केही औषधिहरूलाई लिएर विवाद उठेको छ।
हालसम्म बाबा रामदेव र आचार्य बालकृष्णको तर्फबाट औपचारिक प्रतिक्रिया आएको छैन। उनीहरूविरुद्धको यो कदमले पतञ्जली ब्रान्डको प्रतिष्ठामा प्रभाव पार्न सक्ने आँकलन गरिएको छ।
अदालत र औषधि विभागका अधिकारीहरूले यस विषयमा थप अनुसन्धान जारी राखेको जनाइएको छ। यस घटनाले भारतमा योग र आयुर्वेद क्षेत्रमा चर्चित व्यक्तित्वहरूमाथि उठेका प्रश्नहरूलाई फेरि चर्चामा ल्याएको छ।