लोकसारथि, ११ माघ । नयाँ युवा संस्कृतिको नाम हो दारी ग्याङ । दारी ग्याङ रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको सहकार्यमा भोलि बुटवलमा वक्तृत्वकला प्रतियोगिता आयोजना हुने भएको छ। “गालामा दारी, काँधमा जिम्मेवारी” भन्ने मूल नाराका साथ स्थापना भएको दारी ग्याङ रुपन्देहीले सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गरी बुटवल–११, देवीनगरस्थित नवीन औद्योगिक कदर बहादुर रिता माविमा उक्त कार्यक्रम गर्ने तयारी गरेको छ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले “सामाजिक सञ्जालले व्यक्तिगत जीवनमा पारेको प्रभाव” शीर्षकमा आफ्नो विचार प्रस्तुत गर्नेछन्। वक्तृत्वकला प्रतियोगिताले व्यक्तित्व विकास, नेतृत्व क्षमता निर्माण, र तार्किक विश्लेषणमा विद्यार्थीको दक्षता वृद्धि गर्ने उद्देश्य राखेको दारी ग्याङका संयोजक गोकुल प्रसाद पाण्डेले जानकारी दिए।
दारी ग्याङ रुपन्देहीको स्थापनाको उद्देश्य
संस्थाका सदस्य गोकुलप्रसाद पाण्डेले लोकसारथिलाई दिएको जानकारी अनुसार अनौपचारिक रुपमा २०७२ देखि अस्तित्वमा आए पनि औपचारिक रुपमै स्थापना भएको चाहिँ २०७६ सालमा हो । दारी ग्याङ रुपन्देही एक सामाजिक संस्था हो, जसले सामाजिक चेतना, सहयोग, र दायित्व निर्वाहमा सक्रिय भूमिका खेल्दै आएको छ। संस्थाको मुख्य उद्देश्य युवाहरूलाई सामाजिक उत्तरदायित्वप्रति जागरूक बनाउँदै समाजमा सकारात्मक प्रभाव पार्नु हो। संस्थाले विगतमा रक्तदान कार्यक्रम, शिक्षा सहायता, र विपद् व्यवस्थापनजस्ता विभिन्न सामाजिक कामहरूमा योगदान गरेको छ।
प्रतियोगिताको पुरस्कार र समय तालिका
वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, र सान्त्वना स्थान प्राप्त गर्ने प्रतियोगीहरूलाई क्रमशः नगद रु.२० हजार, १५ हजार, १० हजार, र ५ हजार पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। प्रतियोगिता शनिबार बिहान १०:१७ बजेबाट सुरु हुनेछ।
दारी ग्याङ रुपन्देहीका अध्यक्ष भरत पौडेलले कार्यक्रमले सहभागी विद्यार्थीहरूको सोच, वाककला, र सामाजिक विषयप्रतिको चेतनालाई अभिव्यक्त गर्ने प्लेटफर्म प्रदान गर्ने बताए। साथै, प्रवक्ता प्रदीप कोइरालाका अनुसार यस कार्यक्रमले विद्यार्थीहरूलाई सामाजिक सञ्जालको सकारात्मक र नकारात्मक प्रभावबारे गहिरो समझदारी बनाउन मद्दत गर्नेछ। शिक्षा क्षेत्रमा गरिने कार्यक्रम अन्तर्गत यस अघि भाग्य बोक्ने झोला वितरण गरेको थियो ।
दारी ग्याङ रुपन्देहीको यो पहलले स्थानीय समुदायमा शिक्षा र सामाजिक चेतना अभिवृद्धिका लागि महत्वपूर्ण योगदान दिने विश्वास लिइएको छ।