शैक्षिक संस्थामा राजनीतिक घुसपैठ, धर्ना र तालाबन्दीको मारमा त्रिवि

काठमाडौं । १९ दिनदेखि धर्नामा बसेका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सचिव सिद्धान्त भट्टसँग ३५ बुँदे सहमति गरेर धर्ना तोडेको २ दिनमै फेरि अर्को धर्ना सुरु भएको छ । त्रिभुवन विश्वविद्यालयको रेक्टर खडग केसीको कार्यकक्षमा मंगलबारदेखि अखिल क्रान्तिकारीसहित ५ विद्यार्थी संगठन धर्नामा बसेका छन् ।

गत आइतबार साझँ मात्रै त्रिविले भीसी कार्यालयमा विभिन्न माग राखेर १९ दिनदेखि धर्नामा बसेका अनेरास्वयुको विश्वविद्यालय क्याम्पसका इकाइ अध्यक्ष भट्टसँग सहमति गरेका धर्ना तोडेको थियो । भट्ट गत मंसिर २६ गतेदेखि त्रिविका उपकुलपति बरालको कार्यालय अघि धर्ना बसेका थिए ।

आइतबार साँझ उपकुलपति बरालको रोहवरमा त्रिविका पदाधिकारी र भट्ट पक्षबीच ३५ बुँदे सहमति भएको थियो ।

भीसी कार्यालयमा धर्ना हटेको २ दिन हुन नपाउँदै अखिल क्रान्तिकारीसहित ५ विद्यार्थी संगठन १० बुँदे माग राखेर रेक्टरको कार्यकक्ष धर्नामा बसेका छन् । कार्यालयअघि नै धर्ना बसेको कारण रेक्टर कार्यालय गएका छैनन् । सत्तापक्ष र प्रतिपक्षबीचको बेमेलले यतिबेला त्रिवि धर्ना र तालाबन्दीको मारमा छ । अनेरास्ववियुले धर्ना सकाएलगतै अखिल क्रान्तिकारीले धर्ना साथै तालाबन्दी जारी राखेको छ ।

धर्नामा बसेका प्रतिपक्ष निकट विद्यार्थी संगठनले आफूहरुको माग यसअघि धर्ना बसेको स्ववियु सचिवको भन्दा फरक भएको बताएका छन् ।

तिनै अखिल क्रान्तिकारीले नेताहरुले यसअघि धर्नामा बसेका स्ववियु भट्टमाथि भीसीलाई काम गर्न दिनुपर्ने र भीसीलाई असफल बनाउन कार्यलय अघि नै धर्ना बसेको भन्दै टिप्पणी गरेका थिए । स्ववियु भट्टले भीसी कार्यकक्ष अघिको धर्ना सकाउने बितिकै अखिल क्रान्तिकारीलगायतका ५ विद्यार्थी संगठन रेक्टरको कार्यकक्षमा धर्ना बस्न पुगेका थिए ।

यी पाँच विद्यार्थी संगठनले विगतदेखि दलगत भागवण्डाको चपेटामा परेको विश्वविद्यालय पटक–पटक अनिर्णयको बन्दि हुँदा शैक्षिक क्षेत्रमा अराजकता मौलाउँदै आएको र जसका कारण विश्वविद्यालयको नीतिगत शैक्षिक क्षेत्रमा नकारात्मक असर परेको उल्लेख गरेको छ ।

सोही कुरालाई मध्यनजर गर्दै विश्वविद्यालयमा मेरिटोक्रेसिको आधारमा नियुक्ति प्रक्रिया अवलम्बन गरिनु आवश्यकता रहेको बताउँदै यो प्रक्रियाले पूर्णता नपाउँदै सरकारको हस्तक्षेप पूर्ण गतिविधि र विश्वविद्यालयका पदाधिकारी स्वयंमको मेरिटोक्रेसि विरुद्धको गतिविधिले फेरि पनि दलगत भाडवण्डालाई प्रोत्साहन गरि विश्वविद्यालयलाई अराजगकता तिर धकेलेको बताएको छ ।

विश्वविद्यालयमा विगत र वर्तमानमा भएका र हुँदै आएका कमी कमजोरीहरु सुधार गरी विश्वविद्यालयको रुपान्तरण गर्नका निमित्त संयुक्त विद्यार्थी संगठनले मेरिटोक्रेसिको आधारमा स्याम्पस÷विभागीय प्रमुखहरु विनाशर्त नियुक्ति गर्नुपर्ने, डा. पुष्कर रैखोला नेतृत्वको छानविन समितिको प्रतिवेदनले समकक्षता दिने भनी गरिएको निर्णय तत्काल कार्यान्वयन गर्नुपर्ने र दोषीलाई कारवाही गर्नुपर्ने लगायतका १० बुँदे मागहरु राख्दै धर्नामा बसेका छन् । केहीदिन अघिसम्म भीसी कार्यालयमा धर्नाको विरोध गर्दै हिँडेको अखित क्रान्तिकारी एक्कासी किन धर्ना बस्न पुग्यो त ?

बाहिरी रुपमा १० बुँदे माग राख्दै धर्ना बसेको बताउँदै आएतापनि उनीहरु क्याम्पस चिफको भागबण्डा मागेर धर्ना बसेको स्रोतको भनाइ छ । ११ क्याम्पसमा क्याम्पस प्रमुख नियुक्त हुँदै छन् । उक्त क्याम्पस प्रमुख नियुक्तीमा भागवण्डा खोजेर धर्नामा बसेको त्रिविका एक पदाधिकारी बताउँछन् ।

११ क्याम्पस प्रमुखको नियुक्तको लागि अन्तरवार्ता भइरहेको छ । सोही प्रमुख नियुक्तीमा आफनो भागबण्डाको खोजीमा अखिल क्रान्तिकारी रहेको पदाधिकारीको भनाइ छ । उनका अनुसार मेरिटोक्रेसिको आधारमा स्याम्पस/विभागीय प्रमुखहरु विनाशर्त नियुक्ति गर्नुपर्ने माग राखेपनि उनीहरु क्यापसचिफमा भाग मागिरहेको स्रोतले बताएको छ ।

सोही समूहले त्रिविमा पाँच ठाउँमा तालाबन्दी गरेको छ । भौतिक विज्ञान विभाग, रजिष्टार कार्यालय, स्ववियु कार्यालय, प्रिन्सिपल कार्यालय र सामान्य प्रशासन कार्यालयमा तालाबन्दी गरेका छन् । तालबन्दी र धर्ना कै कारण त्रिविको गतिविधि ठप्प जस्तै बनेको रेक्टर खड्ग केसीले बताए । उनका अनुसार तालाबन्दीले रजिष्टारदेखि भीसीसम्मको काममा बाधा पुगेको छ ।

हिजोदेखि रेक्टरको कार्यकक्षमा धर्नामा बसेको माओवादी निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष दिनेश ऐर भने आफूहरु भागबण्डाको लागि नभई मेरिटोक्रेसिको आधारमा स्याम्पस/विभागीय प्रमुखहरु विनाशर्त नियुक्ति गर्न माग गर्दै धर्नामा बसेको बताउँछन् । साथै उनले अनेरास्ववियुलाई काउन्टर दिनको लागि धर्ना नबसेको पनि जिकिर गरे ।

उनले नेपालप्रेससँग भने, ‘हाम्रो नितान्त कार्यक्रम भनेको रेक्टर कार्यालयमा विगतमा भएको सहमतिहरु कार्यान्वयन नभएको, अहिले प्रतिवेदन सार्वजनिक हुँदा कार्यान्वयनमा नल्याएको, त्रिविमा देखिएको समस्याको हलका निमित १० बुँदे माग राखेर नितान्त शैक्षिक र विद्यार्थीहरुको एजेण्डामा हामीले पटकपटक सुनुवाइ नहुँदा धर्नामा बसेका हौं ।’

उनले स्ववियुको विरुद्ध धर्ना नबसको दाबी गरे । क्रान्तिकारी अध्यक्ष ऐरले भने, ‘हामीले उहाँहरुलाई काउन्टर अटयाक दिन उहाँहरुको विरुद्धमा धर्ना बसेको होइनौं । उहाँहरुको छुटै हो हाम्रो छुटै हो । हाम्रो कुनै दुस्मन छैन । हामीले त अहिले मेरिटको आधारमा क्याम्पस चिफहरु नियुक्ती हुने प्रक्रियामा छ । हाम्रो भनाइ के हो भने हिजोको जस्तो मेरिटोक्रेसि मिचेर दलगत भागबण्डा गर्न नदिनको लागि अहिले चलिरहेको प्रकियालाई स्वच्छ तरिकाले प्रतिस्पर्धाको माफर्त मेरिटोक्रेसिको आधारमा नियुक्ति गरियोस् भन्ने लगायतका मुद्दाहरु उठान गरेका हौं । उनीहरुको विरुद्धमा केही पनि होइन ।’

५ वटा कार्यालयमा ताला लगाएको स्वीकार्दै ताला लगाउनुको माग जायत रहेको उनको भनाइ छ । साथै तालाबन्दीको कारण शैक्षिक गतिविधिमा कुनै अवरोध नपरेको उनको दाबी छ ।

‘फिजिक्समा लगाएको ताला खुल्ने सहमतिमा पुगेको छ । स्ववियुको तीन वटा शाखामा ताला लगाएको छ । हामीले ताला लगाएर शैक्षिक गतिविधिमा प्रभाव परेको छैन । पठन पाठनलाई कुनै पनि अवरोध गरेका छैनौं । सबै निकाय सकारात्मक हुनुहुन्छ । आजै सहमति गराएर ताला खुल्छ ।’ त्रिविमा माओवादी निकट उपकुपति छन् ।

प्रतिक्रिया दिनुहोस्

छुट्यो कि ?

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.