काठमाडौं। चुनाव भनेको जहाँ हुन्छ, त्यहाँका जनताले अत्यन्त चासोका साथ हेर्ने गर्छन्। तर बेलारूसमा २०२५ को चुनावप्रति भने जनताको कुनै उत्साह देखिँदैन। राजधानी मिन्स्कका सडकहरूमा उम्मेदवारहरूको ठूलो-बडो पोस्टर देखिँदैनन्। चुनाव प्रचार लगभग शून्यजस्तै छ। २०२५ को चुनावलाई पहिले नै निश्चित मानिएको छ। ‘युरोपका अन्तिम तानाशाह’ का रूपमा परिचित अलेक्जेन्डर लुकाशेन्को सातौँ पटक सत्ता हात पार्ने तय देखिन्छ। पछिल्ला ३० वर्षदेखि उनी बेलारूसको सत्ता सम्हालिरहेका छन्। उनी तानाशाहीमा उत्तर कोरियाका नेता किम जोङ उनलाई पनि टक्कर दिन्छन्। उनका समर्थकले चुनावलाई बेलारूसको स्वतन्त्रताको उदाहरण भन्छन् भने विरोधीहरूले यसलाई मजाक बताउँछन्। लुकाशेन्को आफैंले पनि चुनाव अभियानप्रति चासो नदेखाएको बताएका छन्। उनले भर्खरै भनेका थिए, “चुनाव अभियानमा ध्यान दिने समय नै छैन।”
लुकाशेन्को को हुन्?
१९९१ मा सोभियत संघ टुक्रिएर १५ वटा देश बने, जसमा बेलारूस पनि एउटा थियो। अलेक्जेन्डर लुकाशेन्को एक मात्र सोभियत सांसद थिए, जसले आफ्नै देशको स्वतन्त्रताको विरोध गरेका थिए। १९९० को दशक बेलारूसका लागि अपराध, महँगी, र कमजोर अर्थतन्त्रको निराशाजनक समय थियो। ग्रामीण पृष्ठभूमिबाट आएका लुकाशेन्कोले स्थिरताको प्रस्ताव गर्दै १९९४ मा सत्ता सम्हाले। जब उनी विजयी भए, त्यसबेला उनको उमेर ३९ वर्ष थियो।
लुकाशेन्कोले २००९ मा एक रूसी अखबारसँगको अन्तर्वार्तामा भनेका थिए, “त्यो बेला सबै उद्योगधन्दा बन्द भइरहेका थिए, पसलका सेल्फ खाली थिए, र सडकमा मानिसहरू प्रदर्शन गरिरहेका थिए।” प्रारम्भिक समयमा उनले ठूलो लोकप्रियता कमाए, तर उनका थुप्रै वाचा अधुरा रहे।
सत्तामा कसरी बनाए कब्जा?
२१औँ शताब्दीको सुरुआतमा पुटिनलाई पश्चिम समर्थक नेता मानिन्थ्यो। तर लुकाशेन्कोले त्यसबेला पश्चिमी देशहरूको प्रतिबन्ध झेलिरहेका थिए। मानवअधिकार समूहहरूका अनुसार लुकाशेन्कोको आलोचना गर्नेहरूलाई पिट्ने, पक्राउ गर्ने, र जेल हाल्ने गरिएको थियो। कतिले देश छोडे भने केहीको अस्तित्व नै मेटिएको थियो।
तिनवटा मुख्य रणनीतिले लुकाशेन्कोले आफ्नो सत्तालाई बलियो बनाए:
- आर्थिक नियन्त्रण: उनले सोभियत युगका सामूहिक कृषि फार्म र सरकारी उद्योगहरूलाई कायम राखे। यी उद्योगहरूले रियायती मूल्यमा रुसबाट कच्चा तेल ल्याएर प्रशोधन गर्थे।
- मध्यम वर्गको दमन: उनले प्रगतिशील मध्यम वर्गको विकासलाई रोक्ने काम गरे, जो प्रायः पश्चिमी विचारधारा समर्थन गर्ने र शासनको आलोचना गर्ने गर्दथे।
- रुससँगको निकटता: १९९७ मा उनले रुससँग संघ राज्य बनाउने सम्झौता गरे। यस अन्तर्गत एउटै सरकार, कानुन, र मुद्रा राख्ने योजना थियो।
सत्तामा टिकिरहन चाहन्छन् लुकाशेन्को
लुकाशेन्कोको छवि अहिले सत्तालाई कुनै पनि मूल्यमा नछोड्ने नेताका रूपमा बनिसकेको छ। २०२० को राष्ट्रपति चुनावपछि मिन्स्कको एउटा कारखानामा उनले भ्रमण गर्दा कामदारहरूले उनको विरोध गरेका थिए। लीक भएको भिडियोमा ‘फिर्ता जाओ’ भन्ने नारा लगाइएको देखिएको थियो।
विशेषज्ञहरूका अनुसार लुकाशेन्कोले बेलारूसलाई ‘मिनी सोभियत संघ’ को रूपमा राख्न सफल भएका छन्। तर उनको तानाशाही शासनका कारण देशमा दमन र आलोचनाको माहोल छ।