बझाङ । केदारस्यु गाउँपालिका–१ रायलमा निर्माणाधिन अवस्थामा रहेको प्रसूति सेवा केन्द्रको भवनलाई एक स्थानीयले घाँस र पराल राख्ने गोठका रुपमा प्रयोग गर्दै आउनु भएको छ । भवन निमार्णको कार्य अलपत्र परेपछि स्थानीयले अहिले घाँस राख्ने ठाँउ बनाएका हुन् ।
केदारस्यु गाउँपालिका–१ का कनाडा, डुडिल, सिम, बगाल, चौडाला, पाडेचौर, रायल र पथुडाका स्थानीयहरुलाई लक्षित गरि दुई वर्ष अघि प्रसूति सेवा केन्द्र निमार्णको काम सुरु गरिएको भए पनि भवन निर्माणको कार्यलाई पूर्णता नदिदा यस क्षेत्रका गर्भवति र सुत्केरीहरुले सास्ती खेप्नु परेको छ ।
भवन निमार्ण कार्यले पूर्णता नपाउँदा उपचार तथा प्रसूति सेवा लिनका लागि एक दिन हिडेर रायल प्राथमिक स्वास्थ्य केन्द्र, देउरा जानु पर्ने बाध्यता रहेको स्थानीय रमेश बोहराले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘स्थानीय सरकारले भवन निर्माणमा चाँसो दिएको पाइएन् । स्वास्थ्य उपचार गर्न निर्माण गरिको भवन स्थानीय व्यक्तिहरुले घाँस जम्मा गर्ने ठाउँ बनाएका छन् ।’
प्रसूति सेवा केन्द्रको भवन निमार्ण कार्यलाई पूर्णता दिई स्वास्थ्य सेवा सुचारु गर्नु पर्ने भए पनि स्थानीय सरकारले बेवास्ता गरेको निवर्तमान वडाध्यक्ष लोकेश भण्डारीले बताउनु भयो ।
केदारस्युँ गाँउपालिकाका अध्यक्ष गणेश बोहराले सामाजिक विकास मन्त्रालयबाट बजेट विनियोजन भइसकेकोले स्वास्थ्य कार्यालय मार्फत भवन निमार्णको काम तत्काल अगाडि बढाई सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनु भयो ।