तलब नपाएपछि स्वास्थ्यकर्मीहरुलाई सास्ती

बैतडीः संघीय सरकार मातहत रहेको बैतडीको सीमा नाका झुलाघाटस्थित हेल्थ डेस्कका कर्मचारीहरूले तलब पाएका छैनन्। चालु आर्थिक वर्षको साउन र भदौमा आधा तलब पाएका त्यहाँ कार्यरत कर्मचारीले अहिलेसम्म तलब पाएका छैनन्।

संघीय सरकारले स्वास्थ्य निर्देशनालयमार्फत् उनीहरूको तलब निकासा गर्ने भएपनि स्रोतको अभावमा तलब निकासा नभएको जनाइएको छ।

झुलाघाट नाकामा तीन स्वास्थ्यकर्मी र एक जना कार्यालय सहयोगी गरेर चार जना कर्मचारी कार्यरत छन्। उनीहरूले समयमै तलब नपाउँदा समस्या भएको बताएका छन्। सीमा नाकामा कोरोना कालमा नै हेल्थ डेस्क स्थापना गरिएको थियो। अघिल्लो आर्थिक बर्षमा प्रदेश सरकार मातहत रहेको सो डेस्कका कर्मचारीहरूलाई स्वास्थ्य कार्यालयमार्फत् तलब निकासा भएको थियो।

अहिले हेल्थ डेस्क संघीय सरकार मातहत रहेको र उनीहरूको तलब स्वास्थ्य निर्देशनालयमार्फत् भुक्तानी हुने भएपनि चालु आर्थिक वर्षमा तलब निकासा नभएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।

आफूहरुले चार महिनायता तलब नपाएको डेस्कमा कार्यरत ल्याब असिष्टेन्ट राजेन्द्र लुहारले बताए। स्रोतको अभावमा तलब नपाएको जानकारी आएको र यो महिनाभित्रै तलब निकासा हुने आश्वासन पाएको उनले बताए।

सीमा नाकामा सञ्चालित हेल्थ डेस्कमार्फत् नियमित रूपमा कोरोना परीक्षण हुँदै आएको छ। भारतबाट फर्कने नागरिकको कोरोना परीक्षणका साथै अन्य जाँचहरूसमेत गर्ने गरिएको ल्याब असिष्टेन्ट लुहारले बताए।

प्रतिक्रिया दिनुहोस्

छुट्यो कि ?

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.